Logo
Logo

पाँच वर्षमा २३ वटा सामूहिक हत्या : डिप्रेशन, आर्थिक लेनदेन प्रमुख कारण



काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म २३ वटा सामूहिक हत्याका घटना भएको छ ।

प्रहरी प्रधान कार्यालयको पाँच वर्षको तथ्यांकअनुसार कर्णालीमा पाँच वटा, प्रदेश नं १ मा तीन, प्रदेश नं २ मा तीन, बागमतीमा प्रदेशमा चार, लुम्बिनीमा दुई र सुदूरपश्चिम प्रदेशमा छ वटा सामूहिक हत्याको घटना भएका छन् । ती घटनामा ११ बालक, पाँच बालिका, २५ महिला र २७ जना पुरुष गरी जम्मा ६८ जनाको हत्या भएको देखिएको छ ।

गत भदौ २० गते मात्रै, मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको छ । यसको प्रहरीले अध्ययन अनुसन्धान गरिरहेको छ ।

२०६० साल असोज १६ गते भएको ललितपुरको बडिखेल हत्या काण्डदेखि २०७८ को २० भदौमा संखुवासभाको उम्लिङमा भएको हत्या काण्डसहित २३ वटा सामूहिक हत्याका घटना भएको प्रहरीको तथ्यांक छ ।

यस्तै, यो अवधिमा भएका बडिखेल हत्याकाण्डसँगै रुपन्देहीको तिलोत्तमामा २०७७ सालको जेठ २ मा भएको हत्याकाण्ड र पाँचथरको अरुबोटेमा २०७६ साल जेठ ७ गते भएको हत्या काण्ड प्रमुख रहेको देखिन्छ ।

प्रहरीका अनुसार ठिक एक वर्ष अघि २०७७ साल भदौ २६ गते भक्तपुरमा सामूहिक हत्या भएको थियो । त्यहाँ एकै परिवारका तीन जनाको वीभत्स हत्या भएको थियो । प्रहरीका अनुसार भक्तपुरमा सुदीप अधिकारी, उहाँकी श्रीमती सम्झना र छोरा सुशान्तको हत्या भएको थियो । तर, अहिलेसम्म दोषी नजिक प्रहरी पुग्न सकेको छैन ।

करिब डेढ वर्षअघि पाँचथरको मिल्काजुङ गाउँपालिकाको आरुबोटेमा सामूहिक हत्याको यस्तै घटना भएको थियो । घटनामा धारिलो हतियार प्रयोग गरेर नौ जनाको हत्या भएको थियो ।

माइत बसेकी श्रीमती लिन जाँदा श्रीमती नआएको र ससुराली परिवारका कारण श्रीमतीले आफूलाई छाडेको रिसका कारण ज्वाइँ मानबहादुर माखिमले सबैको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

२०७१ को असोज १५ गते लमजुङको भोटेओडारमा र २०७३ सालको १५ वैशाखमा सल्यानको राना गाउँमा परिवारको सामूहिक हत्या भएको अभिलेख छ । यो सबै हत्यामा ६८ जना मारिएको प्रहरीको आँकडा छ ।

प्रहरी प्रधान कार्यालयको आकलनमा यस्ता घटना खास गरी डिप्रेसन, आर्थिक तथा पारिवारिक समस्याका कारण हुने गरेको देखिएको छ । अहिलेसम्म भएको परिवारको सामूहिक हत्याका घटनाको विश्लेषण गर्दा फरक–फरक कारण पाइएको प्रहरीले जनाएको छ । घटनाकै कुरा गर्दा ती घटना पारिवारिक विवाद, यौन तृष्णा, डिप्रेसन, मानसिक समस्या, अनैतिक सम्बन्ध, रिस, सम्पत्ति, जग्गा विवाद, लेनदेन रहेको प्रहरीको अनुसन्धानले देखाउँछ ।

पाटन अस्पतालका मनोचिकित्सक डा. अनन्त अधिकारीका अनुसार यस्ता घटना मानसिक परिस्थितिको उपज रहेको छ । उहाँले भन्नुभयो, ‘मानसिक परिस्थिति अर्थात् विभिन्न कारणले मानिस तनावमा आउँछ, आवेगमा आइसकेपछि रिस पोख्छ, हत्या वा आत्महत्या गर्न बाध्य हुन्छ या अरुलाई नोक्सन गर्छ, त्यो सामूहिक हत्यासम्म गर्न पुग्छ, त्यति बेला उसले केही नदेख्ने र जे पायो ती सबैलाई सिध्याउँदै जाने कारणले सामूहिक हत्या हुने गर्छ ।’ यस्तो घटना प्रायस् मानसिक समस्याका कारण हुने गरेको उहाँको भनाइ छ ।

यता, नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले यस्तो घटना हुने मुख्य तीन कारण रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘आर्थिक, डिप्रेसन र आवेगका कारणले यस्ता घटना हुने गरेको छ ।’ यस्तो घटनाको कारण बुझ्न त्यो घटनाको अध्ययन गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले यस्तो घटनाहरु हुन नदिन शान्ति सुरक्षा अझ मजबुद र जनचेतना जरुरी रहेको बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्