Logo
Logo

देउवालाई खबरदारी गर्न पौडेल पक्षले बोलायो छुट्टै भेला



तस्विर फाईल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बेग्लै भेला बोलाएको छ । बैठकमा पौडेल पक्षमा रहेका शीर्ष नेताहरू उपस्थित हुनेछन् ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच नै प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएकोमा पौडेल पक्षले विरोध गरेको छ ।

एक नेताले यस्तो प्रवृत्तिले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकोले सभापति देउवालाई खबरदारी गर्न भेला बोलाइएको बताए । प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न जिल्ला गरी कूल २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद छ ।

भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ। अझै विवादित जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टी वेबसाइटमा राखिएको छैन ।

क्रियाशील विवाद देखिएका जिल्लामा तत्कालै विवाद हल गर्न आज दिउँसो २ बजे भेला गरेर छलफल गर्न लागिएको पौडेलको सचिवालय स्रोतले जनाएको छ ।

पौडेल पक्षले सभापति देउवा पक्ष कमजोर भएका जिल्लामा केन्द्रबाट नै क्रियाशील सदस्यको नाम राख्ने गरिएकोमा विरोध गरेको छ । जिल्लाबाट सिफारिस गरेर पठाइएका नाम हटाएर केन्द्रले नयाँ नाम थपेर क्रियाशीलको सूची सार्वजनिक गर्ने गरेकोमा पौडेल पक्षले विरोध गरेको छ ।

कांग्रेसले ५६ जिल्लाका विभिन्न वडाहरूमा भने यसअघि नै अधिवेशन गरिसकेको छ । कांग्रेसले वडा अधिवेशन सक्न ढिलाइ गर्दा गाउँरनगर अधिवेशन प्रभावित भएको छ । अब गाउँरनगर अधिवेशन असोज ९ गतेलाई सारिएको छ । १४ औं महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्