एमसीसीका सम्बन्धमा रहेका गलत धारणालाई स्पष्ट पार्न सफल भएका छौंः फातिमा सुमार « Drishti News – Nepalese News Portal
Logo

एमसीसीका सम्बन्धमा रहेका गलत धारणालाई स्पष्ट पार्न सफल भएका छौंः फातिमा सुमार


दृष्टि न्यूज


काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले उत्साहित भएको र गलत धारणालाई स्पष्ट पार्न सफल भएको बताएकी छन् ।

उनले अब नेपाल सरकारले यसलाई अनुमोदन गर्नेमा समेत आफू विश्वस्त रहेको उल्लेख गरेकी छन् । सुमार नेतृत्वको टोली नेपालको संसदबाट एमसीसी पारित हुने विश्वासका साथ स्वदेश फर्किइसकेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले फातिमाको भनाइ उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो भ्रमणको दौरानमा एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले म उत्साहित भएको छु । एमसीसीका सम्बन्धमा रहेका गलत धारणा र प्रश्नहरुलाई स्पष्ट पार्न हामी सफल भएका छौं ।’

नेपाल भ्रमणमा रहँदा एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले प्रमुख राजनीतिक दल, सांसद, निजी क्षेत्र लगायतका विभिन्न पक्षहरुसँग एमसीसीको बारेमा परामर्श गरेको थियो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा सुमारको टोलीले विशेषत एमसीसीले प्रदान गर्ने आर्थिक अवसर र सम्झौतामा रहेका केहीको बुँदाको स्पष्टीकरणका विषयमा कुराकानी गरेको उल्लेख छ । फातिमा नेतृत्वको टोली आइतबार साँझ स्वदेश र्फकेको हो ।

प्रतिक्रिया दिनुहोस्