Logo
Logo

लोकसेवा आयोग विधेयक राष्ट्रिय सभाबाट पारित



काठमाडौं । लोकसेवा आयोग विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले एमालेको विरोधका बीच विधेयक बहुमतले पारित गरेको हो ।

आजै बसेको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट ठगेन्द्रप्रकाश पुरीलाई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्न समय दिएका थिए।

दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सो विधेयकमाथि छलफल गरियोस् प्रस्ताव पेस गर्न समय उपलब्ध गराएका थिए।

अघिल्लो वर्ष असार ९ गते बसेको प्रतिनिधिसभाको बैठकले लोकसेवा आयोग विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो। बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको सो विधेयक पारित भएको थियो।

राष्ट्रिय सभाबाट पनि पारित भएसँगै उक्त विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रुपमा लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्