Logo
Logo

बुटवल नगर सभापतिमा पौडेल पक्षकै आकांक्षीको लर्को


दामोदर खनाल


बुटवल । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको तालिका फेरि प्रभावित भएसँगै बुटवल उपमहानगरपालिकामा नगर सभापतिका आकांक्षी पनि बढेका छन् ।

भदौ २७ गतेलाई निर्धारित गाउँ-नगरपालिका अधिवेशन असोज ९ गतेका लागि प्रस्ताव गरिएको छ । त्यस्तै प्रदेश र क्षेत्रीय अधिवेशनको तालिका पनि फेरिएको छ । वडा अधिवेशन सकिएसँगै नगर सभापतिका दावेदार माहोल आफ्नो पक्षमा पार्न भेटघाट तथा छलफलमा जुटेका छन् ।

पश्चिम नेपालको महत्वपूर्ण व्यापारिक तथा शैक्षिक केन्द्र बुटवलको जनप्रतिनिधिको दावेदार बन्न नगरसभापति भएमा सजिलो हुने भएकाले पनि पार्टीको यो अधिवेशनलाई महत्वपूर्णरूपमा लिइएको छ । जस कारण नगर सभापतिमा ६ जनाभन्दा बढी आकांक्षी देखिएका हुन् । उनीहरुले प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।

बुटवलमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल (शेखर कोइराला)समूहका आकांक्षी धेरै देखिएका छन् । पौडेल समूहवाट मात्र ७ नगर सभापतिका आकांक्षी देखिएका छन् । बुटवलमा नेतृत्व तहले आफ्ना कार्यकर्तालाई स्पस्टरूपले समयमै डोर्याउन नसक्दा सभापतिमा आफैँ उम्मेदवारी घोषणा गरेर अगाडि बढेको काँग्रेसजनमै चर्चा हुने गरेको छ ।

वर्तमान नगर सभापति खेलराज पाण्डे क्षेत्रतिर आफ्नो पद सुरक्षित नभए पुनः सभापति दोहोर्याउने पक्षमा देखिन्छन् । आगामी स्थानीय निर्वाचनमा मेयरका दावेदार पाण्डेको बुटवल नगरमा राम्रो पकड छ । हालका नगर उपसभापति विमलराज भट्टराई, सचिव ज्योति भण्डारी, नेविसंघ रूपन्देहीका पूर्वअध्यक्ष प्रकाश राना, प्रजापाल गिरी, वडा १० का वडासभाति खडकबहादुर महत, वडा ३ का क्षेत्रीय सचिव जोगबहादुर खत्री आकांक्षी देखिएका छन् । देउवा पक्षबाट भने महिला नेतृ रीता केसीको नाम चर्चामा छ ।

नगरमा पार्टीको नयाँ विधानअनुसार ५ दर्जन बढी पद छन् । पुराना एक–एक स्टेप बढेर केही नयाँ थपेर जाँदा मिल्ने सजिलो बाटो हँुदाहँुदै समयमा नेतृत्वले कार्यकर्तालाई सही दिशावोध गर्न नसक्दा बुटवल उपमहानगरपालिकामा नगर सभापतिका उम्मेदवार एउटै समूहबाट धरै देखिएको बताइन्छ । कतिपय जिल्ला नगरस्तरका नेता पार्टीभन्दा व्यक्तिगत व्यापार÷व्यवसायको स्वार्थबाट अगाडि बढेको कारण पार्टी कमजोर भएको कार्यकर्ता आरोप लगाउँछन् ।

हालका सभापति खेलराज पाण्डे उम्मेदवार नबने उपसभापति विमलराज भट्टराई, प्रकाश राना, प्रजापाल गिरी र रीता केसीबीच प्रतिस्पर्धा हुने देखिन्छ । भट्टराई आफू दुई कार्यकाल नगर उपसभापति भएर काम गरिसकेकाले यो पटक सभापतिको आकांक्षी हुनु स्वभाविक भएको बताउँदै यो वा त्यो पक्षभन्दा पनि काँग्रेसलाई एक बनाएर अगाडि बढाउने आफ्नो चाहना रहेको बताउँछन् ।

यसअघिको निर्वाचनमा खेलराज पाण्डेसँग पराजित युवा नेता प्रजापाल गिरी बुटवल काँग्रेसलाई सही तरिकाले अगाडि बढाउन र ५ हजार बढी सक्रिय सदस्यलाई प्रशिक्षित तथा अनुशासित बनाउन आफूले उम्मेदवारी दिने बताउँछछन् । देउवा र पौडेल दुवै समूहले आ-आफ्नो दाबी गर्ने गिरी आफू हाल कुनै पक्षमा नरहेको दाबी गर्दै काँग्रेसलाई गति दिन उम्मेदवारी घोषणा गरेको बताउँछन् ।

ज्योती भण्डारी आफू २०४५ सालदेखि निरन्तर राजनीतिमा लागेर हाल नगर सचिवका रूपमा रहेको र सबैलाई समेटेर काँग्रेस गुट रहित बनाउन उम्मेदवारी दिने बताउँछन् ।

झण्डै १० बर्ष नेपाल विद्यार्थी संघ रूपन्देहीको सभापति तथा निर्वाचित केन्द्रीय उपसभापतिसमेत भइसकेका प्रकाश राना हाल रामचन्द्र पौडेल समूहवाट नगर सभापतिको उम्मेदवार हुन् । राना सम्पर्क कार्यालय खोलेर प्रचारप्रसारमा जुटेका छन् । रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलसँग बिजनेस पाटर्नर रहेका रानाले पौडेलको बलियो साथ पाउन सक्ने काँग्रेस वृत्तमा चर्चा छ ।

समग्रमा बुटवल नगरमा रामचन्द्र र शेखर कोईरालाको पकड बलियो देखिन्छ । तर पनि देउवा निकट मानिने महिला नेतृ रीता केसी पनि कमजोर छैनन् । महिला अधिकारका लागि पहिलोपटक महिलावाट उम्मेदवारी दिएको बताउँदै आएका केसी पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि उम्मेदवारी दिने बताउँछन् ।

सचिवमा छाया पोखरेल, जयप्रकाश भट्टराईको पनि दाबी छ । नयाँ विधानअनुसार दुई उपसभापति र दुई सचिव रहने व्यवस्था भएकोले महिला पुरूष दुवै समावेश गरी मिलाएर लैजान स्थानीय नेताबीच छलफल भने चलिरहेको छ ।

आन्तरिक लोकतन्त्रका नाममा निकट भविष्यमा हुने स्थानीय, प्रदेश र संघको चुनावलाई मध्यनजर गर्दै सकारात्मक प्रभाव पर्ने र दरार उत्पन्न नहुने गरी सर्वसम्मत गाउँ÷नगरको नेतृत्व चयनमा पहल गर्नुपर्ने कार्यकर्ताको माग छ । वर्षभर पार्टी र जनताको काममा नदेखिने पनि महाधिवेशन नजिकिएपछि उम्मेदवारको रुपमा देखिएका छन् । वर्षदिन कार्यकर्तासँग पनि नभेट्ने नेता पदका आकांक्षी हुनु दुःखद रहेको काँग्रेसजनको गुनासो पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्