Logo
Logo

दसैंलाई नयाँ नोट असोज ४ देखि



काठमाडौं । दसैंमा सबैका हातमा नयाँ–नयाँ नोट । तर गएको वर्ष त्यस्तो भएन । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको छ । राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछ ।

‘धेरै भीड नहोस् भनेर गत सातादेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन थालिसकेका छौं,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने । उनका अनुसार राष्ट्र बैंकले ४ गतेदेखि नै बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने अनौपचारिक सहमति भएको छ ।

यद्यपि राष्ट्र बैंकमै आउने सर्वसाधारणलाई अहिले नयाँ नोट सटही सुविधा दिइएको नेपालले बताए । ‘वितरण भइरहेको जानकारी पाएर आउने सर्वसाधारणलाई खाली हात फर्काएका छैनौं,’ उनले भने । यसो गर्दा धेरै भीड नहुने उनको भनाइ छ ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट पाउनेछन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एकरएकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ ।

सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा क, ख र ग वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । सोही क्रममा आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ६० करोड रुपैयाँ लगिसकेका छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्