Logo
Logo

सेञ्चुरी बैंकको घोटालामा राष्ट्र बैंकको संरक्षण



काठमाडौं । रेमिटेन्स कारोबारको क्रममा सेञ्चुरी बैंकको पाँच करोड रुपैयाँ डुबेको घटनामा नेपाल राष्ट्र बैंकको भूमिका शंकास्पद देखिएको छ । दोषीलाई कारबाही गर्ने भन्दा राष्ट्र बैंकका कर्मचारीहरु नै यसमा संलग्नहरुलाई जोगाउनतर्फ लाग्दा बैंकको पैसा फस्ने भएको छ ।

मोरिससमा स्थापना भएको एमएण्डएम रेमिटले सेञ्चुरी बैंकलाई ठगी गरेको हो । नेपाल राष्ट्र बैंकले सेन्चुरी बैंकमा भएको यस्तो अनियमितताको छानबिन गरेर कारबाहीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेपछि राष्ट्र बैंकले नै अर्काे पत्र पठाएर अनुसन्धान तत्काल अघि नबढाउन निर्देशन दिएको स्रोत बताउँछ ।

सेन्चुरीले उक्त रेमिट कम्पनीसँग गरेको सम्झौताअनुसार नेपालमा भुक्तानी दिएको थियो । तर, मोरिससबाट कम्पनीले पैसा नपठाई बैंकलाई ठगी गरेको हो । कम्पनीको पृष्ठभूमि नबुझी सम्झौता गरेको र लामो समयसम्म भुक्तानी नआउँदा समेत कारोबारलाई निरन्तरता दिएकाले यसमा बैंकको समेत मिलेमतोको आशंका छ ।

राष्ट्र बैंकको छानबिनमा यसमा संलग्न बैंकका कर्मचारीमाथि कारबाही गर्नुपर्ने प्रतिवदन ६ महिनाअघि नै तयार भएको । तर, बैंकका सञ्चालकको चलखेलले कारबाही रोकिएको स्रोत बताउँछ । ‘कारबाहीका लागि सिआइबीलाई पत्राचार गर्ने निर्णय समेत भइसकेको थियो,’ राष्ट्र बैंक स्रोत भन्छ,‘पछि एक्कासी प्रहरीलाई नपठाउने बरु राजश्व अनुसन्धान विभागमा पठाउने प्रस्ताव आयो, तर के गर्ने अझै निर्णय भएको छैन ।’ झन्डै पाँच लाख अमेरिकी डलर बराबरको बिदेशी मुद्रा अपचलन भएको भन्दै राजश्व अनुसन्धानतर्फ छानबिन अघि बढाउन खोजिएको थियो । यसमा बैंकका कर्मचारीदेखि सञ्चालकसम्म फस्ने भएकाले आर्थिक चलखेलमा राष्ट्र बैंकले त्यससम्बन्धि पत्राचार गरेन ।

सिआइबीले अनुसन्धान गर्दा तत्कालिन सिइओसहित धेरै कर्मचारी पक्राउ पर्न सक्ने भएकाले दबाबको भरमा प्रहरीलाई पत्राचार नगरी सामान्य कारबाही गरेर उन्मुक्ति दिने प्रयास भएको थियो । तर, बैंकले आन्तरिक रुपमा मिलाउन राष्ट्र बैंककै अधिकारीहरुले प्रयास गरिरहेका छन् । तर, पाँच करोड रुपैयाँ मिलान नगरी सो कम्पनीविरुद्ध अदालतमा मुद्दा हाल्न लगाएर घटना मिलाउन लागिएको छ ।

२५ मार्च २०१६ मा सेन्चुरी बैंक र एमएण्डएम रेमिटबीच सम्झौता भएको थियो । एमएण्डएमका मालिक मनिषराज पन्त हुन् । जसको मुख्य कार्यालय मोरिससमै छ । सो कम्पनी हाल बन्द भइसकेको छ । पन्त फरार रहेको स्रोत बताउँछ । ठगीकै नियतले कम्पनी स्थापना भएको देखिन्छ । त्यस्तो कम्पनीसँग सम्झौता गर्ने बैंकका कर्मचारीमाथि समेत कारबाही भएको छैन । संस्थागत भ्रष्टाचार भएकाले नै बैंक वाणिज्य बैंकमध्ये बसैभन्दा पुछारमा छ । यसमा राष्ट्र बैंकको समेत मिलेमतो देखिएपछि बैंक झन् संकटमा पर्ने लगानीकर्ताका चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्