Logo
Logo

विशेष अदालतमा प्रधानन्यायाधीशको चलखेल



काठमाडौं । सोमबार विशेष अदालतमा १० वटा मुद्दाको पेशी थियो । जसमध्ये दुई वटा पक्षबाट स्थगित भयो । अन्य दुई वटामा सुनुवाई भयो । बाँकी ६ वटा मुद्दाको पालो नै आएन ।

पछिल्लो दुई महिनायता विशेष अदालतमा यस्तै दृश्य छ । दैनिक दर्जन मुद्दा पेशी चढ्ने भएपनि पालो नै आउने गरेको छैन । किनकि विशेष अदालत जम्मा दुई न्यायाधीशको भरमा चलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका कारण भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा राज्यविरुद्धको अपराध जस्ता गम्भीर प्रकृतिका मुद्दा हेर्ने विशेष अदालत यसरी अस्तव्यस्त बनेको हो ।

विशेष अदालतका अध्यक्षसहित चार न्यायाधीशको अन्य सरुवा भइसकेकोमा विशेषमा अन्य न्यायाधीशको सरुवा नहुँदा सयौं मुद्दाको सुनुवाई प्रभावित भएको छ । दुई महिनासम्म पनि विशेषलाई न्यायाधीशविहिन बनाउँदा सुनुवाइ अस्तव्यस्त बनेको एक कर्मचारी बताउँछन् ।

विशेषका अध्यक्ष प्रेमबहादुर कार्की तथा सदस्यहरु बालेन्द्र रूपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूलाई दुई महिनाअघि आकस्मिक रुपमा काज सरुवा गरिएको थियो । तर, विशेषमा कसलाई लैजाने भन्ने निर्णय हुन नसक्दा सरुवा हुन सकेको छैन । पछिल्लो समय राजनीतिक हस्तक्षेप, सर्वाेच्चभित्रै बढेको गुटबन्दीका कारण न्याय परिषद् समेत कमजोर बन्दै गएको छ । जसबाट सर्वसाधरण पीडित हुन थालेका छन् । दुई महिनामा दर्जनौं मुद्दाको फैसला हुने भएपनि विशेषमा मुद्दाहरु प्रभावित बनेका छन् । विशेषमा हाल करिब ६ सय मुद्दा विचाराधिन छन् ।

प्रतिक्रिया दिनुहोस्