Logo
Logo

एकीकृत समाजवादी रोजेका दुई सांसदलाई कारवाही नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका दुई र्सासदलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले एकीकृत समाजवादी रोजेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई मुद्दा नटुंगिएसम्म कारबाही नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

दलमा आवद्ध हुन पाउने हकमा असर पर्नेगरि कुनै कारबाही नगर्न सर्वोच्चले एमाले लगायत विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो ।

नेकपा एमाले विभाजन गर्दै नयाँ दल गठनका लागि निवेदन दिन तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुग्दा पाण्डे र भट्टको हस्ताक्षर छुटेको थियो । त्यसपछि पाण्डे र भट्टले सनाखत गर्ने समयमा आयोग पुगेर आफूहरूले पनि नयाँ पार्टीमा आबद्ध हुन पाउनुपर्ने माग गरेका थिए ।

निर्वाचन आयोगले उनीहरुको माग अस्वीकार गरेपछि पाण्डेर र भट्ट आफूहरूले एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी) दल रोज्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पाण्डे र भट्टराई कारवाही नगर्न अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्