Logo
Logo

भ्रष्टाचारसँग अख्तियार डरायो



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जका प्रमुख झंकरबहादुर रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेपछि आयोगभित्र उजुरीकर्ताको खोजविन भएको छ । अख्तियारले भ्रष्टाचार भए÷नभएको प्रारम्भिक छानविन अघि बढाउन थालेकै अबस्थामा आयोगको केन्द्रिय कार्यालय आफैले छानविन गर्ने भनेपछि अख्तियार पछि हट्यो । एउटा स्वतन्त्र संवैधानिक निकायको आन्तरिक बिषयमा क्षेत्राधिकारको प्रश्न नउठोस् भनेर अख्तियारले हात झिकेको थियो ।

रावलको बिषयमा छानविन गर्ने भनेर आयोगले सहसचिव डा. टीकाराम पोखरेलको नेतृत्वमा टोली पनि बनायो । उक्त टोलीले लुम्बिनी प्रदेश शाखा कार्यालयको स्थलगत भ्रमण गरेर वस्तुस्थिति बुझ्ने काम पनि ग¥यो । कागजातहरु नियन्त्रणमा लिई छानविन र अनुसन्धान भयो । तर आयोग स्रोतका अनुसार भ्रष्टाचार देखिने स्पष्ट आधार र प्रमाण नदेखिएको भन्दै प्रतिवेदन पेश भइसकेको छ ।

रावललाई उजुरीको आरोपबाट फुर्सद दिलाउने गरी डा.पोखरेलले प्रतिवेदन बुझाएका छन् । मिलिभगतमा प्रतिवेदन तयार गर्दै सामसुम पार्न खोजिएको चर्चा आयोगभित्रै छ । यद्यपि पोखरेल नेतृत्वको टोलीले उजुरी पूर्वाग्रही देखिएको निश्कर्षसहित आयोग अध्यक्ष तपबहादुर मगर समक्ष संक्षिप्त रिपोर्ट पेश गरेको जनाइएको छ । तर त्यो रिपोर्ट भने गुपचुप छ ।

रावलविरुद्ध आयोगभित्रैबाट अख्तियारमा उजुरी परेको बताइन्छ । उनीविरुद्ध स्थलगत भ्रमणमा नै नगई कागजातहरु मिलाएर लाखौं भत्ता बुझ्ने गरेको, धनगढी घरमा जाँदा समेत भ्रमण काज मिलाउने गरेको, अन्तरक्रिया गोष्ठीमा उपस्थिति नै नभएका व्यक्तिहरुको नक्कली हस्ताक्षर गरी हाजीर गर्ने गरेको, नक्कली बील भरपाई तथा भउचर उठाई लाखौं अनियमितता गरेको दाबीसहित अख्तियारमा उजुरी परेको थियो । तत्काल निलम्बन गरी छानविन हुनुपर्ने माग उजुरीकर्ताको रहे पनि आयोग आफै अघि सरेका कारण अख्तियारको हात बाँधिएको थियो ।

उजुरीमाथि छानविनको कुरा एकातिर छँदै छ, अहिले आएर रावलविरुद्ध उजुरी दिने को हो भनेर व्यापक खोजि भइरहेको आयोगका एक अनुसन्धान अधिकृतले बताए । उजुरीको ढाँचा र व्यहोरा हेर्दै पनि सिद्धहस्त व्यक्तिले आन्तरिक रुपमै हालेको स्पष्ट हुन्छ । स्रोतका अनुसार आयोगभित्रै उजुरीकर्ताको सुक्ष्म निगरानी हुन थालेपछि भागाभागको अवस्था देखिएको छ । ‘अनियमितता हो वा होइन भन्ने कुरो त आफ्नो ठाउँमा छ, यहाँ त उल्टै उजुरीकर्तालाई नै कारवाही होला भन्ने डर भो,’ ति अधिकृतले भने, ‘आयोगभित्रै कारवाहीको डरले श्वेत आतंक फैलिएको छ । तैँ चुप मै चुपको स्थिति हो ।’

प्रतिक्रिया दिनुहोस्