Logo
Logo

ओली आफैं पार्टी निकट कर्मचारी संगठन फुटाउन सक्रिय



महासचिव गौतम र अध्यक्ष देवकोटा

काठमाडौं । पार्टी फुटाएको भन्दै माधवकुमार नेपाल पक्षलाई छुद्र गाली गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली आफैं पार्टी निकट ‘नेपाल निजामती कर्मचारी संगठन’ फुटाउन सक्रिय भएका छन् । संगठनमा माधव नेपाल पक्षको बहुमत देखिएपछि ओली पक्षले संगठन फुटाउन लागेको हो ।

संगठन फुटाउने योजनासहित आगामी असोज २ गते संगठनको भेला राखिएको छ । संगठनबाट निर्णय नै नगराई गर्न लागिएको भेलामा झडप नै हुने सम्भवाना देखिएपछि ठूलो संख्यामा प्रहरी खटाउन लागिएको छ । ओलीलाई प्रमुख अतिथि बनाएर संगठनका अध्यक्ष केदार देवकोटाले एकलौटी रुपमा भेला आयोजना गर्न लागेका हुन् ।

निजामती प्रशासनको सबैभन्दा ठूलो संगठनका धेरै जसो पदाधिकारी तथा केन्द्रीय सदस्यहरु नेपाल पक्षमा लागेका छन् । अध्यक्ष केदार देवकोटा ओली पक्षका हुन् । उनले विधान मिचेर कार्यकर्ता भेला भनेर बोलाएपछि विवाद चर्किएको छ । उपाध्यक्षहरु तथा महासचिव रेवन्त गौतमले सो भेलामा सहभागी नहुन कर्मचारीलाई भनेका छन् । ओली पक्ष पनि संगठनमा बहुमत जुटाउन अनेक हत्कन्डामा लाग्दा संगठनभित्र विवाद चर्किएको छ ।

अहिलेको अवस्थामा भने धेरै जसो माधव नेपालतर्फ लागेका छन् । उपाध्यक्षहरु भुवन राई, शरण गुरुङ, मेघदेव पन्त, याम बहादुर खत्री, मोहन गिरी घनश्याम सापकोटा लगायत माधव नेपाल पक्षमा छन् ।

महासचिव रेवन्त गौतम, कोषाध्यक्ष बखत बहादुर खड्का पनि नेपाल पक्षमै छन् । उपमहासचिवद्वय चेतनाथ न्यौपाने, रामचन्द्र अधिकारी, सचिवहरु भवानी खतिवडा, सीता गुरुङ, केदार अधिकारी, बेद खतिवडा नेपाल पक्षमा लागेका छन् ।

भेलालाई असफल बनाउन शनिबार बानेश्वरको एक होटलमा नेपाल पक्षका नेताहरुको बैठक बसेको थियो । विश्वनाथ प्याकुरेल, भोला पोखरेल, मोहन घिमिरे लगायत भेलामा सहभागी थिए । जसले भेला अवैध भएकाले त्यसलाई असफल बनाउन दस्ता समेत बनाउने निर्णय गरेको स्रोत बताउँछ ।

‘नेपालगञ्जको महाधिवेशनमा पुन्य ढकाल र केदार देवकोटाले मञ्च कब्जा गरेको शोधभर्ना अब लिइनेछ,’ माधव पक्षका एक कर्मचारी नेताले दृष्टिसँग भने । २ गतेको भेला नरोकिए संगठन फुट्ने निश्चित भएको ती नेताले बताए । यसअघि एमालेबाट माले फुट्दा पनि कर्मचारी संगठन भने फुटेको थिएन । यसपटक ओली नै संगठन फुटाउन लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्