Logo
Logo

विधान अनुमोदनका लागि माओवादीले केन्द्रीय कमिटीमा पेश गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले पार्टीको विधान पारित गरेको छ । पारित विधान आवश्यक संशोधन गर्दै केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलनमा अनुमोदनका लागि पेश हुनेछ ।

मंगलबार बसेको बैठकले पार्टीको विधान पारित गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । विधान तयार भइसकेको भए पनि अझै भाषामा हेरफेर गर्नुपर्ने भएकाले त्यसमा थप काम गरेर आगामी केन्द्रीय कमिटी वा राष्ट्रिय सम्मेलनमा अनुमोदनका लागि पेश गरिने उनले बताए ।

‘आजको बैठकमा चारवटा एजेन्डामाथि छलफल भएका छन् । पार्टीको विधानलाई अन्तिम रुप दिन छलफल भएको छ । भाषामा हेरफेर गर्नुपर्ने थियो’ महराले भने, ‘केही परिमार्जन गर्दै आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनबाट पास गर्ने गरी पारित गरिएको छ ।’

यसैगरी बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग गठन गरेको छ । आयोगमा २२ जना सदस्य रहनेछन् । ‘स्थानीयदेखि केन्द्रसम्म पार्टीको निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि निर्वाचन आयोगलाई दिइएको छ’ प्रवक्ता महराले भने ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले विभिन्न पार्टीबाट एकता गरेकाहरुको समायोजन गर्न गठित कार्यदलले अहिलेसम्मको प्रतिवेदन बुझाएको बताए । सो प्रतिवेदनको बारेमा समेत बैठकमा छलफल भएको छ ।

पार्टी प्रवेश र एकीकरणका लागि आएका ४५ वटा पार्टी र नेता कार्यकर्ताहरुलाई समायोजन गर्न कार्यदलले प्रतिवेदन बैठमामा बुझाएको छ । यस्तै पार्टी प्रदेशका पदाधिकारीको थपघटसम्बन्धी बिषयमा छलफल गर्दै बैठकले गृहकार्य गरेर अगाडी बढने निर्णय गरेको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएन् । ’मन्त्रिपरिषदबारे यो बैठकमा केही कुरा भएन’ उनले भने, ‘संसदको गतिरोध हटाउन प्रतिपक्षी एमालेसँग संवाद बढाउने काम सभामुखले गरिरहनु भएको छ । संसदको गतिरोध हटाएर सहमतिमा अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्