Logo
Logo

कक्षा १२ को परीक्षा सुरु हुँदै, भौतिक उपस्थितिमै हुने



काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु हुँदैछ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा असोज ८ गतेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।

परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्