Logo
Logo

‘पूर्वमुख्यमन्त्री पोखरेलविरुद्धको किटानी जाहेरी लिन प्रहरीद्वारा आलटाल’



बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्री वलीको किटानी जाहेरी लिन प्रहरीले आलटाल गरेको आरोप लगाएको छ । सांसद वलीले उनीहरु विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले आलटाल गरेको हो ।

गत १५ साउनदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर आफूलाई बन्धक बनाइएको सांसद वलीको आरोप छ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार पोखरेलसहित ४ जनालाई कारबाहीको माग गर्दै वलीले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न आलटाल गरेको लुम्बिनी प्रदेश माओवादी मुख्य सचेतक तुलाराम घर्ती मगरले बताए ।

‘हामी अस्ति इलाका प्रहरी कार्यालय बुटवलमा गएका थियो । तर प्रहरीले दाङ रिफर गर्नुपर्ने भन्दै अझै सम्म दर्ता गर्न आलटाल गरेको छ’ उनले भने, ‘हामीले यही गर्नुहोस् त्यसपछि जहाँ रिफर गरे पनि गर्नु होला भनेका छौँ ,तर प्रहरीले मानेको छैन ।’

जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका किरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग उनले गरेको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको भएपनि विमला वलीको घटनाको सुरु दाङमा भएकोले त्यहाँ नै उजुरी दर्ताको लागि जानुपर्ने बताएका छन् ।

माओवादीका प्रमुख सचेतक घर्तीले प्रहरी बुटवलमा दर्ता गरेर दाङमा रिफर गर्नु पर्नेमा ढिलाइ गरेको बताए । प्रहरीले तीन दिनसम्म दर्ता गर्न आलटाल गरेको भन्दै आज दिउँसो डिआइजीसँग कुरा गरेर भए पनि दर्ता गर्ने उनले बताए । एमालेले उनी आफूहरूको सांसद रहेको र मुख्यमन्त्री कार्यालयमा स्वइच्छाले बसेको पत्रकार सम्मेलन गरी एमाले प्रमुख सचेतक ढकालले दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्