Logo
Logo

कार्यकर्ता होइन, माथिका नेता बिग्रिएका रहेछौँ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

बुधबार पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा आवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको र राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘तर जरुरी प¥यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’

दिवंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए ।

अध्यक्ष प्रचण्डले ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौँको संख्यामा सडकमा आउन तयार रहेछन् । जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौँ ।’

अध्यक्ष प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको स्वीकारे । उनले भने, ‘हामी हिजोका विरासतबाट विचलित जस्तो भएका छौँ । वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’

युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको बताउँदै उनले भने, ‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको छ । गुट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ ।’

प्रतिक्रिया दिनुहोस्