Logo
Logo

काँग्रेसले टुंग्यायो ८ जिल्लाको क्रियाशील सदस्यता विवाद



काठमाडौं । नेपाली काँग्रेसले विवादित ८ वटा जिल्लाको पार्टी क्रियाशील सदस्यता टुंग्याएको छ । काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंग्याएको हो ।

नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले सर्वसम्मत रुपमा विवाद निरुपण गरेका हुन् । नेता सिटौला, रिजाल र लेखकले बनाएको मापदण्डअनुसार क्रियाशील छानविन समितिले निर्णय लिएको छानविन समितिका सदस्य योगेन्द्र चौधरीले बताए । तर, निर्वाचन समितिले ८ जिल्लाको सदस्यता नामावली बुझेको छैन ।

२० वटा जिल्लाको सदस्यता नामावली किस्ता किस्तामा नबुझ्ने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अडान राख्दै आएका छन् । २० वटै जिल्लाका सदस्यता नामावली चाँडो टुंग्याउन निर्वाचन समितिले ताकेता गरिरहेको छ । चौधरीका अनुसार आज बाँके, सुर्खेत र काठमाडौंको विवाद पनि निरुपण गर्ने तयारी छ । सिटौला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार सुर्खेतमा अखण्ड समानान्तरले १९९ क्रियाशील सदस्यता पाएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा प्रतिनिधिहरुले बाँके र सुर्खेतमा सदस्यता लेनदेन गरी मिलाउन पौडेल पक्षको प्रस्ताव छ । तर, देउवा पक्षले सबै जिल्लामा एउटै मापदण्ड लागू गर्नुपर्नेमा जोड दिएको छ । काँग्रेसमा बाँकी ९ जिल्लामा यस्तै विवाद छ । सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट र बारा गरी प्रदेश २ का ६ जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै छ ।

रसुवामा तत्कालीन नयाँ शक्ति, कपिलवस्तुमा संघीय फोरम र डोल्पामा राप्रपाबाट आएकाहरुको सम्बन्धमा क्रियाशील सदस्यता विवाद छ । २० जिल्लामा भदौ १८ मा वडा अधिवेशन नहुन नसकेपछि अधिवेशनको कार्यतालिका नै परिमार्जन गर्नुपरेको छ । यी २० जिल्लामा असोज ५ गत वडा अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ ।

यस्तै पालिकाको अधिवेशन भदौ २७ बाट असोज ९ गते सारिएको छ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो । मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्