Logo
Logo

सुन्दर विश्वकर्माको अध्यक्षतामा एकीकृत समाजवादी बारा कमिटी घोषणा



कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बारा जिल्ला कमिटी घोषणा भएको छ । कलैयामा बिहीबार सम्पन्न जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २ सय ५१ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको हो ।

प्रदेश २ का सांसदसमेत रहेका विश्वकर्मा यसअघि एमालेका जिल्ला अध्यक्ष थिए । एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अंसरी र बिजेन्द्र चौधरी सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्रप्रसाद कलवार रहेका छन् ।

जिल्ला कमिटीको सदस्यमा बतहु यादव, ध्रुव यादव, कृष्ण खनाल, रमेश सुबेदी, सुभाष साह, बलिराम ठाकुर, गौरी ढकाल, शुभनारायण साह, राजेश पटेल, गणेश रिजाल, मनोज गुप्ता लगायतका रहेका छन् ।

जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य एवं प्रमुख अतिथि नागेन्द्र चौधरीले समाजवादी आन्दोलनका लागि एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन आह्वान गरेका छन् । एमाले अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड एवं तानाशाही शैलीका कारण कम्युनिस्ट आन्दोलनले ठूलो नोक्सानी भएको बताउँदै नेता चौधरीले कम्युनिस्ट आन्दोलनको संरक्षण तथा जोगाउनका लागि एकजुट भएर आगाडि बढ्न निर्देशन दिए ।

अर्का केन्द्रिय सदस्य एंव विशिष्ट अतिथि दिनेश राईले ओलीको व्यक्तिवादी चरित्रले पार्टीलाई कम्पनीको रूपमा अगाडि बढाउन खोजेपछि विद्रोह गर्नु परेको बताए । झन्डै दुइतिहाईको ओली सरकारले जनताको पक्षमा काम नगरी मनोमानी रूपमा अगाडि बढ्दा कम्युनिष्ट पार्टीले नोक्सानी ब्यहोर्नु परेको बताए ।

भेलामा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य विभा कार्की, प्रदेश सांसद सीता गुरुङ, प्रदेश २ कमिटीका सदस्य छ्ठु यादव, श्रीप्रसाद पासवान, बिक्रम राम, सुरेन्द्र यादव, छविलाल उप्रेती, अनेम संघका केन्द्रिय सदस्य चमिना भट्टराई लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्