Logo
Logo

विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने



काठमाडौं । विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने भएका छन् । असोज १ गतेदेखि भौतिक रूपमा पठनपाठन गराउने तयारी गरिरहेको बेला काठमाडौं जिल्ला प्रशासनले पठनपाठन गर्न नपाउने आदेश जारी गरेको छ ।

तर, पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्ने प्रशासनले बिहीबार जारी गरेको आदेशमाआदेशमा उल्लेख गरिएको छ ।

यस्तै, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने आदेशमा भनिएको छ ।

आदेशमा अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनुपर्ने पनि उल्लेख गरेको छ ।

यस्तै सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न पनि प्रशासनले रोक लगाएको छ भने चाडपर्वहरू सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ । यस्तै स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने पनि प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्