Logo
Logo

चितवनमा एक जनाको हत्या, छिमेकी पक्राउ



काठमाडौं । चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले बताए ।

प्रहरीले कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई पक्राउ गरेको छ । दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको हो । घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

प्रहरीले भीड नियन्त्रण गर्न हवाई फायरसमेत गर्नुपरेको थियो । झडपमा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका छन् । उनीहरूको उपचार भैरहेको छ दुई जना स्थानीय व्यक्ति घाइते भएका छन् । मृतकको शवलाई भरतपुर अस्पताल राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्