Logo
Logo

आफैले तिरस्कार गरेकाहरुले सत्ता जोगाइदिने अष्टलक्ष्मीको आशा



काठमाडौं । एमाले विभाजनको क्रममा माधवकुमार नेपाललाई धोका दिएर केपी शर्मा ओलीलाई रोजेवापत पाएको मुख्यमन्त्री पद जोगाउन अष्टलक्ष्मी शाक्यलाई धौधौ परेको छ ।

माधवलाई धोका दिएवापत वाग्मती प्रदेशको मुख्यमन्त्री बनेका शाक्यको बहिर्गमन लगभग पक्का जस्तै छ । मुख्यमन्त्री पद जोगाउन माधवसँग हारगुहार गर्दै आएका शाक्य पछिल्लो समय माधव नेतृत्वको एकीकृत समाजवादीले आफूलाई विश्वासको मत दिने भन्न थालेका छन् । शनिबार महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाक्यले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको भन्दै विश्वासको मत पाउने दावी गरेका थिए ।

आफू नेतृत्वको सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको उनको भनाइ थियो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि आफूसँगको सल्लाहमै शाक्य मुख्यमन्त्री बनेको त बताइसकेका छन् । तर, मुख्यमन्त्री बनेपछि शाक्यले एकीकृत समाजवादी र माधवप्रति गर्दै आएको टिप्पणी हेर्दा शाक्यले एकीकृत समाजवादीको मत पाउने अवस्था देखिदैन । वर्तमान सत्ता गठबन्धनकै आधारमा भन्ने हो भने पनि नेकपा एमालेका सासंदलाई मुख्यमन्त्रीको रुपमा राखिराख्ने अवस्था हुँदैन ।

मुख्यमन्त्री शाक्यले एकीकृत समाजवादीका सांसदले विश्वासको मत दिने बताइरहँदा एकीकृत समाजवादीका नेताहरु भने जसरी पनि मुख्यमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन् । दृष्टिन्यूजसँग कुरा गर्दै एक नेताले भने– ‘संकटको बेला छोडेर मुख्यमन्त्री खान जानेलाई बाँकी राख्न सकिन्न । जस्तोसुकै अवस्था भए पनि उहाँलाई मुख्यमन्त्री राखिन्न । केही दिनमै हटाइन्छ ।’

शाक्य भदौं २ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यो आधारमा भन्ने हो भने मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने समय घर्किसकेको छ ।

प्रतिक्रिया दिनुहोस्