Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : राजनीतिक आरोप प्रत्यारोपदेखि कैदीबन्दीको सजाय माफीसम्म



हेडलाइन्स्

१. संविधान दिवसको अवसरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा, मन्त्रिपरिषदको भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी, हर्कबहादुर राईसमेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा ।

२. काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको भएको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेन, राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नगरी मन्त्रिपरिषद विस्तार गर्दा आफ्नै दल विभाजन हुने डरले सत्तारुढ गठबन्धनले त्रसित, तीन दिन भित्र मन्त्रिपरषद विस्तार हुने सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दावी, मन्त्रिपरिषद विस्तार अगावै राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुने संकेत ।

Puspakamal-Dahal-Prachanda

३. संविधान र संघीयता कार्यान्वयनका लागि कानून निर्माणका हिसाबले मूलभूतरुपमा संघीय संसद ठीक बाटोमै अघि बढिरहेको सभामुख अग्निप्रसाद सापकोटाको भनाइ, पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलोे विश्वविद्यालय बनेको धारणा व्यक्त, संघीय ससदको ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र संकल्प गर्नुपर्ने आवश्यकता रहेको धारणा, संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण लगायतका विषयमा केकस्ता कमजोरी भए त्यसको गम्भीर आत्मसमीक्षा गरिनुपर्नेमा जोड ।

४. काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अर्बौको सेटिङमा करको दर हेरफेर गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, सरकारले सेटिङको आधारमा करको दर तलमाथि गरेको आरोप मात्र नभइ सार्वजनिक रुपमै प्रमाणित भएको दावी, वर्तमान सत्ता गठबन्धन चुनावको बेला फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने टिप्पणी ।

५. सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी नेपाल (जसपा) यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने, संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने अध्यक्ष उपेन्द्र यादवद्धारा जारी विज्ञप्तिमा उल्लेख, संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने पनि विरोध नगर्ने उल्लेख, अर्को मधेसी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संविधान दिवसको दिन ‘ब्ल्याक आउन’ गर्ने ।

६. विश्वासको मत माग्नुपर्ने दिन नजिकिएसँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य संकटमा, संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिन विपक्षीको आग्रह, विश्वासको मत नमागे अविश्वासको प्रवातवबाट हटाउने विपक्षीको चेतावनी, मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने भएसँग विपक्षी गठबन्धनमा नेकपा एकीकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित, दशैं अगाडि नै आफ्नो सरकार बन्ने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोको भनाइ ।

७. बेलायत सरकारको अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धलाई केही खुकुलो पार्दै रेड लिस्ट पुनरावलोकन गर्यो, नेपाल बेलायतको रेड लिस्ट सूचीबाट हट्न सकेन, ४ अक्टोबरदेखि लागू हुने गरी टर्की, पाकिस्तान, मल्दिभ्स, इजिप्ट, श्रीलंका, ओमान, बंगलादेश र केन्याको रेट लिष्ट हट्द नेपालको कामयमै, बेलायत जान प्रतिक्षामा रहेका सयौं नेपाली कहिले जान पाउने भन्ने अनिश्चित ।

८. धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण, ३ हजार ३ सयको विन्दुमा पुगेका नेप्से २ हजार ८ सयको विन्दुमा झर्यो, कारोबार भएका पाँच दिनमध्ये २ दिन नेप्से परिसूचकमा सुधार भयो भने ३ दिन ओरालो लाग्यो, कूल २ सय ३१ कम्पनीको ७ करोड ४ लाख ४७ हजार ७ सय १७ कित्ता शेयर ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७ सय १५ मूल्यमा खरिद–बिक्री ।

९. एएफसी महिला एसियान कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित, नेपाल क्रिकेट संघ (क्यान)द्वारा सातै प्रदेशमा प्रशिक्षक नियुक्त, प्रदेश १ मा पुष्प थापा, प्रदेश २ मा प्रकाश शर्मा र सुनिल कुमार शाह, बागमतीमा सन्जय महर्जन, गण्डकीमा रिजन प्रजु, लुम्बिनीमा नेपाली वसन्त शाही ठकुरी र जमिल अन्सारी, कर्णालीमा वीरेन्द्र शाही, सुदूरपश्चि प्रदेशमा खेमराज भट्ट र जानकी भट्ट नियुक्त ।

१०. तालिवानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय खुल्न थाल्यो, माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालयहरू शनिबारदेखि सञ्चालनमा आएको अफगान शिक्षा मन्त्रालयको भनाइ, अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको ८४ वर्षको उमेरमा मृत्यु, तीन चिनियाँ अन्तरिक्ष यात्री नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबा ९० दिनपछि सकुशल फिर्ता ।

प्रतिक्रिया दिनुहोस्