Logo
Logo
लुम्बिनी प्रदेश

मन्त्री नै गएनन् संविधान दिवश समारोहमा



बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको विशेष समारोहमा तीन मन्त्री उपस्थित भएनन् । सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका तीनै जना मन्त्रीहरु संविधान दिवस नमनाउने पार्टीको नीतिअनुसार अनुपस्थित भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा गरिएको संविधान दिवस समारोहमा एक सय जना हाराहारीको सहभागी थिए । कार्यक्रममा नेकपा एमाले पनि उपस्थित भएन । मूल समारोहमा प्रमुख विपक्षी एमालेलाई औपचारिक निम्तो नै नगरिएपछि अनुपस्थित भएको हो ।

समारोहमा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीको उपस्थिति रहेको थियो । प्रमुख विपक्षी दल एमालेका सांसद एवं पूर्वमन्त्री वैजनाथ चौधरीले आफ्नो दललाई खबर नै नगरेको बताए । उनले भने, ‘संविधान दिवस जस्तो साझा कार्यक्रममा प्रमुख विपक्षी दललाई खबरै छैन, कुनै म्यासेज आएन ।’

जनता समाजवादी पार्टी संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सहषराम यादवले वर्तमान संविधान पूर्ण नभएको र महिला, मधेशी, आदिवासी जनजाति र दलितको अधिकार स्थापित नभएकाले संविधान दिवस नमनाउने निर्णय गरिएको बताए । उनले संविधान अपूर्ण भएका कारण राज्यको पुनर्संरचना बेठीक भएको बताए ।

संविधान दिवस मूल समारोह आयोजनाको समन्वय गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रविलाल पन्थले सबै सांसदलाई निमन्त्रणा गर्ने जिम्मा प्रदेशसभा सचिवालयको भएकाले बताए । तर, प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने सभामुख र आफूलाई निमन्त्रणा आएपनि सांसदहरुलाई निमन्त्रणाको विषयमा जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्