Logo
Logo

पीडामा मल्हम लगाउने ती काँधलाई सलाम !


0
Shares

विपत्ति कुनै प्राकृतिक घटना मात्र होइन, यो राज्यको क्षमता र समाजको चरित्रको कसी पनि हो । सामान्य अवस्थामा भाषण गर्न सजिलो हुन्छ, योजना सुनाउन सजिलो हुन्छ, आश्वासन बाँड्न झन् सजिलो हुन्छ । तर जब बाढीले बस्ती बगाउँछ, पहिरोले बाटो थुन्छ, भूकम्पले घर भत्काउँछ र नागरिकको जीवन मृत्युको मुखमा पुग्छ, त्यतिबेला भाषण होइन, व्यवहार बोल्छ । र, त्यही कठिन घडीमा राज्यको अग्रपंक्तिमा उभिने थोरै मानिस हुन्छन् । तीमध्ये सुरक्षाकर्मी सबैभन्दा अगाडि देखिन्छन् ।

विपत्ति आउँदा उनीहरू जीवनको सबैभन्दा असुरक्षित ठाउँतिर जान्छन् । हामी जहाँबाट भागिरहेका हुन्छौँ, उनीहरू त्यतैतिर बढिरहेका हुन्छन् । हामी जहाँ पुग्न डराउँछौँ, उनीहरू त्यहीँ पुग्न बाध्य हुन्छन् । यो बाध्यता केवल जागिरको होइन । यो एउटा कर्तव्य पनि हो । उनीहरू पनि हामीजस्तै मान्छे हुन् । उनीहरूलाई पनि डर लाग्छ । उनीहरूका पनि परिवार छन् । घरमा उनीहरूको बाटो कुरेर बस्ने आमा छन्, श्रीमती छन्, छोराछोरी छन् । उनीहरूलाई पनि थाहा हुन्छ– जहाँ आफू जाँदैछु, त्यहाँबाट फर्किने ग्यारेन्टी छैन । तर जब नागरिकको जीवन संकटमा पर्छ, उनीहरू आफ्नै डरभन्दा माथि उठ्छन् । आफ्नो परिवारको चिन्तालाई मनभित्र दबाएर अरूको परिवार बचाउन जोखिम मोल्छन् ।

भोटेकोशीको बाढीलाई हेर्दा पनि यही सत्य देखिन्छ । त्यो सामान्य बाढी थिएन । त्यो एउटा प्रलय थियो । मानवीय जीवनमाथि आइपरेको विनाश थियो । प्रकृतिको त्यो उग्र रूपसँग जुध्न मानिससँग धेरै विकल्प थिएन । कतिपय ठाउँमा पुग्नै कठिन थियो । कतिपय ठाउँमा अर्को भेल कहिले आउँछ भन्ने कुनै निश्चित थिएन । तर त्यहीँ सुरक्षाकर्मीहरू पुगे, जहाँ पुग्न सामान्य मानिसले धेरैपटक सोच्नुपथ्र्यो । जहाँ हरेक पाइला जोखिमपूर्ण थियो, उनीहरूले त्यहीँ जीवन खोजे ।

उनीहरूलाई थाहा थिएन– अर्को भेल कति ठूलो हुनेछ । उद्धार गर्न गएको आँफू नै फर्कने हो होइन कुनै ग्यारेन्टी थिएन । तर उनीहरूलाई एउटा कुरा थाहा थियो– कतै न कतै कोही फसेको छ, कोही सहयोगको प्रतीक्षामा छ, कसैको परिवार आफ्नो मान्छे फर्किने आशामा छ । त्यसैले उनीहरू अघि बढे ।

हामी उद्धारका दृश्यहरू केही सेकेन्ड हेर्छौँ । डोरीमा झुन्डिएर भेलमा पसिरहेको जवान देख्छौँ । हिलो र लेदोमा घण्टौँ खटिरहेको सुरक्षाकर्मी देख्छौँ । भिरको फेदीबाट मानिसलाई काँधमा बोकेर निकालिरहेको दृश्य देख्छौँ । सुरुङभित्र फसेकाहरूको खोजी गरिरहेको टोली देख्छौँ । क्यामेराले यी दृश्य कैद गर्छ, हामी केही क्षण भावुक हुन्छौँ र अर्को समाचारतिर लाग्छौँ । तर ती केही सेकेन्डका दृश्यभित्र कति घण्टाको थकान, कति डर, कति जोखिम र कति मानसिक तनाव लुकेको हुन्छ भन्ने हामीले सायद कहिल्यै बुझ्न सक्दैनौँ ।

हामी सुरक्षित घरभित्र बसेर विपत्तिका भिडियो हेर्छौँ । मोबाइलमा घटना हेर्छौँ, सरकारलाई प्रश्न गर्छौँ, उद्धार किन ढिलो भयो भनेर बहस गर्छौँ, राज्य कहाँ चुक्यो भनेर औँला उठाउँछौँ । यो आवश्यक पनि छ । राज्यलाई प्रश्न गर्नुपर्छ । राज्यलाई जवाफदेही बनाउनुपर्छ । उद्धारमा कमजोरी भयो भने त्यसको हिसाब मागिनुपर्छ । तर राज्यको कमजोरीको आलोचना गर्दै गर्दा राज्यकै एउटा महत्त्वपूर्ण अङ्गका रूपमा आफ्नो ज्यान जोखिममा राखेर नागरिक बचाइरहेका सुरक्षाकर्मीको योगदानलाई बिर्सनु हुँदैन ।

किनकि, हामीले उद्धारमा देख्ने एउटा जवानको अनुहार पछाडि एउटा पूरा परिवार हुन्छ । ऊ बाढीको भेलमा पसिरहेको बेला घरमा बसेकी उसकी आमाको मुटु पनि डरले काँपिरहेको हुन्छ । श्रीमतीले फोनको घण्टी कुरिरहेकी हुन्छिन् । बच्चाले ढोकातिर हेर्दै ‘बाबा कहिले आउनुहुन्छ ?’ भनेर सोधिरहेको हुन्छ । तर ती सबै भावनालाई मनभित्र बोकेर पनि ऊ अर्काको बच्चाको बाबु खोज्न निस्किएको हुन्छ । अर्काको श्रीमतीको श्रीमान् बचाउन निस्किएको हुन्छ । अर्काको आमाको छोरा फर्काउन निस्किएको हुन्छ । योभन्दा ठूलो मानवीय जिम्मेवारी के हुन सक्छ ?

विपत्तिमा सुरक्षाकर्मीको सबैभन्दा ठूलो शक्ति हतियार होइन, कर्तव्यबोध हो । उनीहरूलाई थाहा हुन्छ– एक मिनेट ढिला हुँदा कसैको सास रोकिन सक्छ । एउटा गलत निर्णयले उद्धार गर्न गएको व्यक्ति आफैँ मृत्युको मुखमा पुग्न सक्छ । तर, जोखिमको हिसाब गरेर पछि हट्ने सुविधा उनीहरूसँग हुँदैन । किनकि, उनीहरूका लागि उद्धारको घडीमा ‘ड्युटी सकियो’ भन्ने शब्दको अर्थ हुँदैन । त्यसैले उनीहरू थकित शरीर लिएर पनि दौडिन्छन्, भोकै भएर पनि खटिन्छन् र रातभर निद्रा नपरी पनि अर्को बिहान उद्धारमा उभिन्छन् ।

यही कारणले विपत्तिमा उनीहरूले भोग्ने कठिनाइलाई केवल ‘ड्युटी’ भनेर सामान्यीकरण गर्नु पनि अन्याय हो । हिलो, लेदो, पहिरो, भोक, थकान र लगातारको मानसिक दबाबबीच काम गर्नु सामान्य काम होइन । कतिपय अवस्थामा उनीहरूले आफ्नै सुरक्षाको न्यूनतम सुविधा पनि सुनिश्चित गर्न नसकी अरूको जीवन बचाउनुपर्छ । अझ दुःखद कुरा त के छ भने, कहिलेकाहीँ अरूलाई बचाउँदा–बचाउँदै उनीहरूले आफ्नै जीवन गुमाउँछन् । अरूका लागि उद्धारकर्ता बनेर गएको व्यक्ति आफैँ फर्किएन भने त्यो एउटा समाचार मात्र होइन, एउटा परिवारको लागि जीवनभरको पीडा हो ।

नेपालले यस्तो त्याग पटकपटक देखेको छ, भोगेको छ । २०७२ सालको भूकम्पमा भग्नावशेषमुनि जीवन खोज्दै सुरक्षाकर्मीहरू दिनरात खटिएका थिए । कोभिड महामारीमा पनि जब संसार नै डराइरहेको थियो, सुरक्षाकर्मीहरू सडकमा थिए । सङ्क्रमित क्षेत्रको व्यवस्थापनदेखि अस्पतालको सुरक्षा र शव व्यवस्थापनसम्म उनीहरू अग्रपंक्तिमा देखिए । राष्ट्रिय सङ्कट आउँदा सबैभन्दा पहिले मैदानमा पुग्ने र अन्तिमसम्म मैदान नछाड्ने शक्ति सुरक्षाकर्मी बनेका छन् ।

तर हाम्रो समाज पनि अचम्मको छ । सङ्कटमा हामी उनीहरूलाई नायक बनाउँछौँ, सङ्कट सकिएपछि बिर्सन्छौँ । विपत्ति आउँदा सलाम गर्छौँ, सामान्य अवस्थामा उनीहरूको आवश्यकता र कठिनाइबारे सोच्दैनौँ । आन्दोलन भयो भने उनीहरू नै निशानामा पर्छन् । भीडसँग मुठभेड भयो भने उनीहरू नै ढुंगामुढा खान्छन् । कतिपय घटनामा उनीहरूको गल्ती हुन्छ, त्यसमा प्रश्न उठ्नैपर्छ । उनीहरू कानुनभन्दा माथि छैनन् । नागरिक अधिकारको उल्लङ्घन भयो भने जवाफदेही बनाउनैपर्छ । तर एउटा सुरक्षाकर्मीको गल्तीलाई आधार बनाएर सम्पूर्ण सुरक्षाकर्मीको त्यागलाई नै प्रश्न गर्नु पनि उत्तिकै गलत हुन्छ । आलोचना आवश्यक छ, तर आलोचनाले उनीहरूको मानवीय पक्ष मेट्नु हुँदैन ।

सुरक्षाकर्मी भनेको केवल पोसाक लगाएको व्यक्ति होइन । त्यो पोसाकभित्र पनि एउटा मुटु धड्किरहेको हुन्छ । त्यहाँ डर हुन्छ, माया हुन्छ, परिवार हुन्छ, भविष्यका सपना हुन्छन् र मृत्युको भय पनि हुन्छ । फरक यति मात्र हो– हामीमध्ये धेरै मानिस डर लागेपछि सुरक्षित ठाउँ खोज्छौँ, उनीहरू भने डर लाग्दालाग्दै पनि जोखिमतिर अघि बढ्छन् । त्यसैले उनीहरूको साहसलाई केवल ‘बहादुरी’ भनेर एउटा शब्दमा सीमित गर्नु पर्याप्त हुँदैन । त्यो साहसको पछाडि अनुशासन छ, प्रशिक्षण छ, कर्तव्यप्रतिको प्रतिबद्धता छ र सबैभन्दा माथि नागरिकको जीवनप्रतिको जिम्मेवारी छ ।

नायक सधैँ पर्दामा हुँदैन । नायकको हातमा सधैँ पुरस्कार हुँदैन । नायकको शरीरमा सधैँ सफा पोसाक हुँदैन । कहिलेकाहीँ नायक हिलोले लतपतिएको पोसाकमा हुन्छ । हातमा डोरी हुन्छ । काँधमा घाइते नागरिक हुन्छ । आँखामा थकान हुन्छ । र, मनमा एउटा मात्र संकल्प हुन्छ–जबसम्म सम्भव छ, एउटा जीवन पनि बचाउनुपर्छ । हामीले हिरो खोज्न टाढा जानुपर्दैन । कहिलेकाहीँ हाम्रो अगाडि नै एउटा सुरक्षाकर्मी उभिएको हुन्छ, जसले आफ्नो जीवनको जोखिममा अरूको जीवन बचाइरहेको हुन्छ ।

तर, यति भन्दैमा राज्यको जिम्मेवारी सकिँदैन । यदि राज्यले सुरक्षाकर्मीबाट असाधारण साहसको अपेक्षा गर्छ भने उनीहरूलाई असाधारण तयारी पनि दिनुपर्छ । आधुनिक उद्धार उपकरण, पर्याप्त सुरक्षा सामग्री, विशेष तालिम, विपद् व्यवस्थापनसम्बन्धी दक्षता, मानसिक तयारी र उचित सामाजिक सुरक्षाबिना उनीहरूलाई हरेक विपत्तिमा चमत्कार गर्न लगाउनु राज्यको कमजोरी हो ।

सुरक्षाकर्मीलाई केवल जोखिममा पठाउने होइन, जोखिमसँग जुध्न सक्षम बनाउने जिम्मेवारी पनि राज्यकै हो । उनीहरूलाई सङ्कटको बेला सम्झिने तर सामान्य अवस्थामा उनीहरूको सुरक्षा, सुविधा र कल्याणलाई बेवास्ता गर्ने प्रवृत्ति बदलिनुपर्छ ।

किनकि, देशको सुरक्षा सीमा र चौकीमा मात्र हुँदैन । कहिलेकाहीँ देशको सुरक्षा बाढीको भेलमा हुन्छ । कहिलेकाहीँ पहिरोको फेदीमा हुन्छ । कहिलेकाहीँ भग्नावशेषमुनि हुन्छ । कहिलेकाहीँ अस्पतालको गेटमा हुन्छ । कहिलेकाहीँ सुरुङको अँध्यारोभित्र हुन्छ । र, त्यहीँ, मृत्युको सबैभन्दा नजिक उभिएर कसैले जीवन खोजिरहेको हुन्छ । त्यो जीवन खोज्ने हात कुनै अमूर्त राज्यको हात होइन, हाम्रो आफ्नै सुरक्षाकर्मीको हात हो ।

त्यसैले सुरक्षाकर्मीलाई केवल विपत्तिको बेला सम्झिने होइन, उनीहरूको योगदानलाई हाम्रो राष्ट्रिय चेतनाको हिस्सा बनाउनुपर्छ । उनीहरूलाई प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गरौँ, गल्ती भए जवाफदेही बनाऔँ, तर त्याग गरेको ठाउँमा सम्मान गर्न पनि नचुकौँ । राज्यलाई बलियो बनाउने भनेको केवल सरकारलाई बलियो बनाउनु होइन, नागरिकको सङ्कटमा पहिलो पङ्क्तिमा उभिने संस्थाहरूलाई सक्षम, सुरक्षित र सम्मानित बनाउनु पनि हो ।

इतिहासले धेरैपटक सत्ता सम्झिन्छ, पद सम्झिन्छ, भाषण सम्झिन्छ । तर, सङ्कटको इतिहासले अन्ततः त्यही हात सम्झिन्छ, जसले भग्नावशेष पन्छाएर जीवन निकालेको थियो । त्यही काँध सम्झिन्छ, जसले घाइतेलाई बोकेको थियो, त्यही डोरी सम्झिन्छ, जसको सहारामा कसैले मृत्युको मुखबाट फर्केर पुनर्जिवन पाएका हुन्छन् । र, त्यही साहस सम्झिन्छ, जसले आफ्नो जीवनभन्दा अर्को मानिसको जीवनलाई एक क्षणका लागि ठूलो ठानेको थियो । मृत्युको सबैभन्दा नजिक पुगेर जीवन खोज्ने ती मानिसहरूलाई– सलाम । हाम्रा सुरक्षाकर्मीहरूलाई– मुरीमुरी सलाम ।

प्रतिक्रिया दिनुहोस्