
काठमाडौं । दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को लाइसेन्स रद्द गर्ने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले एक दशकदेखि लगभग निष्क्रिय रहेको यूटीएलको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो ।
सँगै कम्पनीको चल–अचल सम्पत्ति रोक्का राखी लिलामी प्रक्रियामा लगिने भएको प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
उनले भने, ‘हाल यूटएलको सेवा सञ्चालनमा नरहेको साथै ग्राहक पनि नरहेको देखिएकाले लाइसेन्स रद्द गरी चल–अचल सम्पत्ति रोक्का र सरकारी बाँकीसरह असुल उपर गर्ने बोर्ड बैठकले निर्णय गरेको छ ।’
लाइसेन्सको अवधि समाप्त हुन केही दिनमात्रै बाँकी रहँदा कम्पनीले नवीकरणका लागि प्रक्रिया अघि बढाएपछि अनेक संशय उठिरहेको थियो । करिब ३० अर्ब रुपैयाँ बराबरको बक्यौता तथा अन्य दायित्व बाँकी रहेको अवस्थामा पुरानो हिसाब नटुंग्याई लाइसेन्स नवीकरण गर्न खोजिएपछि नियामकीय निर्णयमाथि प्रश्न उठेको बेला प्राधिकरणले यो निर्णय गरेको हो ।















