Logo
Logo

एमाले दशौँ महाधिवेशन : चर्कियो जबजबारे बहस



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद (जबज) बारेमा थप छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् । भुसालले जबजको बारेमा थप छलफल गर्नुपर्ने प्रस्ताव गरेसंगै एमालेमा फेरी बहस सुरु भएको छ ।

एमालेको विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको सांगठनिक प्रस्तावमाथि छलफल गर्दै उपमहासचिव भुसालले बुँदागत टिप्पणी प्रस्तुत गर्दै ज्बजले उल्लेख गरेभन्दा धेरै बिषय पार्टीले अभ्यास गरिसकेको जनाएका छन् ।

अब पनि जबजले कार्यक्रमका रुपमा पार्टीलाई मार्गदर्शन गछु भन्नु अतिश्योक्ति हुने बताउँदै उनले भनेका छन्, ‘मदन भण्डारीले नयाँ जनवादी कार्यक्रममा १४ वटा विशेषता थपेको हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नु पर्छ भन्नु भयो । ती १४ विशेषता हामीले अभ्यास नै गरिसकेका छौँ । वास्तवमा जनताको बहुदलीय जनवादले उल्लेख गरेभन्दा धेरै विषय हामीले अभ्यास गरिसकेका छौँ ।’

यदि सिद्धान्तको रूपमा यसले पार्टीलाई मार्गदर्शन गर्छ भन्ने नै हो भने आफूले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको ‘लोकतान्त्रिक बाटोबाट श्रमजीवी वर्गको पक्षमा समाजको रूपान्तरण’ भन्ने परिभाषाका आधारमा जबजको व्याख्या गर्नुपर्ने उपमहासचिव भुसालले भनेका छन् ।

‘जनताको बहुदलीय जनवादबारे हामीले मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेका छौँ । उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रूपमा अगाडि सार्नु भएको थियो । छैटौँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिईकन सिद्धान्त भनियो’ उपमहासचिव भुसालले भने, ‘सातौँमा नयाँ केही गरिएन ।

आठौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादका विशेषता के के हुन् भनेर क. झलनाथ खनालले लामो व्याख्या गर्नु भयो तर सिद्धान्तको रूपमा त्यसको पुष्टि गर्नु भएन । त्यसका विशेषताहरूलाई क. वामदेव गौतमले पनि व्याख्या गर्नु भएको छ । तर वस्तुतः त्यसबारे आवश्यक छलफल भएकै छैन ।’

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा एमालेको स्थायी कमिटी बैठक जारी छ । हिजो देखी सुरु भएको स्थायी कमिटी बैठक आज पनि जारी नै छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव बिष्णु पौडेलले विधान मस्यौदा प्रस्ताव पेश गरेका छन् । यस अघि नै स्थायी कमिटी बैठकले रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरिसकेको छ ।

एमालेले आउदो १५, १६ र १७ मा विधान महाधिवेशन काठमाडौंमा गर्दैछ । एमालेभित्र पहिलो पटक नेतृत्व चयन र नीति निर्णय गर्ने छुटाछुटै महाधिवेशन गर्दैछ । विधान महाधिवेशमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान प्रस्तुत हुनेछ । यस अघि ९ औं महाधिवेशनले विधि विधान र नेतृत्व छनोटका लागि फरकफरक महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी ८ र ९ असोजमा केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । स्थायी कमिटीबाट पारित राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान मस्यौदा लगायतका प्रतिवेदनहरु केन्द्रीय कमिटीबाट पारित गरेर विधान महाधिवेशनमा पेश हुने र विधान महाधिवेशनले पारित गरेपछि सोही अनुसार नेतृत्व चयन १०आँै महाधिवेशनबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्