Logo
Logo

महामारी नियन्त्रणका लागि थप सहयोग गर्न विश्व बैंकसँग आग्रह



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ महामारी नियन्त्रणका लागि नेपाललाई थप सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा विश्व बैंकको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री शर्माले विश्व बैंकबाट थप सहयोग आवश्यक रहेको बताएका हुन्।

‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ। कोभिड-१९ संक्रमणको समयमा बैंकले आपत्कालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ। यसका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने।

वर्तमान सरकार कोभिड-१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराइ आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको उनको भनाइ थियो। नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने अपेक्षा व्यक्त गरे।

विश्व बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे।

भेटमा बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गरे। उनले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैंकले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे।

बैंकको प्रतिनिधिमण्डलले अर्थसचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको थियो। भेटमा सहयोगका क्षेत्रमा विस्तृत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्