Logo
Logo

नक्कली स्टिकरको बिगबिगी



काठमाडौं । राजस्व अनुसन्धान विभाग बुटवलले नक्कली स्टिकरका विषयमा अझै टुंगो नलगाए पनि आन्तरिक राजस्व विभाग धनगढीले भने नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने वेस्टर्न लिकरलाई गतसाता ५३ करोड जरीवाना गरेको छ ।

भारतबाट छपाएर ल्याएको नक्कली अन्तःशुल्क स्टिकर प्रयोगमा संलग्न सात जनालाई पक्राउ गरेर जनही ७ करोड २९ लाख रुपैयाँ धरौटी माग गरिएको छ । गत भदौ महिनामा कम्पनीको कामदार बस्ने घरबाट नक्कली स्टिकर बरामद गरेको थियो । बरामद भएको स्टिकर विभागमा जाँच गर्दा नक्कली भएको पुष्टि भएको छ ।

पक्राउ परेका नक्कली स्टिकर करिब ७ करोड मूल्य बराबरको रहेको विभागले जनाएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने वेस्टर्न लिकर्सलाई ५३ करोड जरीवाना गरिएको जानकारी दिएका छन् ।

यस उद्योगबाट ५० र ७० युपीको धेरैजसो सस्ता मदिरा उत्पादन गर्दै आएको छ । उद्योगको संचालक संचालक हर्केस सिंह हुन् । विभाग स्रोतका अनुसार वेस्टर्नले सस्तो मदिरा पहाडी क्षेत्रमा बिक्री गर्दै आएको छ । कोभिडको समयमा बजार अनुगमन गर्न नसक्दा राजस्व छलीको घटनामा वृद्धि भएको पौडेलको भनाइ छ । अब भने बजारमा कडा अनुगमन गर्ने महानिर्देशक पौडेलले दृष्टिलाई बताएका छन् ।

विभागका अनुसार २०७६ मा नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको आरोपमा पर्सामा संचालित उदयपुर डिस्टीलरी र जयश्री धौवलागिरी डिस्टिलरी पोखरियाका संचालक अन्तःशुल्क स्टिकर दुरुपयोगमा जेल चलान भएका थिए । आन्तरिक राजस्व कार्यालय वीरगंजले स्टिकर दुरुपयोगको आरोपमा उदयपुर डिस्टीलरीका संचालक ओमप्रकाश कलवारलाई २६ करोड १६ लाख ७९ हजार ८ सय ४७ रुपैयाँ धरौटी माग गरेको थियो । त्यसैगरी जयश्री धौलागिरीका संचालक शम्भु शरणप्रसाद कलवारसँग ५ करोड ४८ लाख २९ हजार २ सय ५० रुपैयाँ धरौटी माग गरिएको थियो ।

स्रोतका अनुसार रौतहटको ज्योति डिष्टिलरी, बाबा डिष्टिलरी र दोलखाको मनासुलु डिष्टिलरीले पनि नक्कली स्टिकर प्रयोग गर्दै आएको छ । धनगढीस्थित वेष्टर्न लिकरको नक्कली स्टिकरमा बैजु वावरा साहको पनि संलग्नता भएको आशंका गरिएको छ । साहले धनगढीबाट नक्कली स्टिकर ल्याएर आफ्ना उत्पादनमा प्रयोग गर्ने र ती नक्कली स्टिकरका मदिरा सीमा क्षेत्रमा समेत तस्करी गर्दै आएको समाचार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्