Logo
Logo

भारतदत्तको छनोट, काउन्सिलको परिपक्वता



काठमाडौं । धेरैले अनुमान गरेभन्दा विपरीत यसपटक प्रेस काउन्सिल नेपालले यो वर्षको सर्वश्रेष्ठ गोपालदास पत्रकारिता पुरस्कार भारतदत्त कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । केपी शर्मा ओली सरकारले नियुक्त गरेका काउन्सिल पदाधिकारीले एमाले निकटकै कोहीलाई उक्त पुरस्कार दिनेछ भन्ने आम अनुमान थियो । तर, निर्णय त्यस्तो भएन ।

काउन्सिलले यही ६ गते आफ्नो वार्षिकोत्सवका अवसरमा नेपाली पत्रकारिताका पायोनियर व्यक्तित्व भारतदत्त कोइरालालाई १ लाख ५१ हजार रुपैया राशिसहितको गोपालदास पत्रकारिता पुरस्कार प्रदान गर्दैछ । बरिष्ठ पत्रकार कोइराला नेपालमा ग्रामीण विकासमूलक पत्रकारिताको प्रवद्र्धनका अगुवा हुन् । त्यतिमात्र होइन, उहाँ प्रेस काउन्सिल, नेपाल प्रेस इन्स्टिच्युट, नेपाल टेलिभिजन र मिडिया विकास कोषको स्थापनामा अगुवाइ गर्ने मध्येमा पर्छन् । ८० वर्ष उमेर हाराहारीका बरिष्ठ पत्रकार कोइरालालाई यो पुरस्कारमा छनौट गरी काउन्सिलले निकै परिपक्वता देखाएको छ ।

कोइराला कुनै राजनीतिक वाद, सिद्धान्तभन्दा माथि उठेको व्यक्तित्व हुन् । उनको अन्तराष्ट्रिय व्यक्तित्व छ । एशियाको नोवेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार समेत उनले नेपाली पत्रकारिताको विकासमा पु¥याएको योगदानकै कारण पाइसकेका छन् । गोरखापत्र दैनिकको चिफ रिपोर्टरदेखि सम्पादक र महाप्रवन्धकसम्म भइसकेका छन् ।

उनीसहितको पहलमा स्थापना भएको प्रेस इन्टिच्युटबाट सयौं पत्रकार उत्पादन भएका छन् । कोइराला स्वयं काउन्सिलको सदस्य रही यसको कामलाई विवादरहित बनाउने काममा भूमिका खेलेका थिए । नेपाली पत्रकारिताका होनहार व्यक्तित्व स्व.गोपालदास श्रेष्ठको सम्मानमा स्थापित उक्त पुरस्कार कोइराला हकदार हुन् । तर, उनीभन्दा थुप्रै कनिष्ठ पत्रकारलाई यसअघि यो पुरस्कार दिइँदा मिडिया र सम्बद्ध निकायबाट चर्को आलोचना पनि भएको थियो । काउन्सिलका अघिल्ला नेतृत्वले सही पात्र छनौट गर्न नसकेको, पुरस्कारमा राजनीतिक भागवण्डा गरेको, सम्मानित गर्नुपर्ने व्यक्तित्वलाई अनदेखा गरेको भन्दै विरोध समेत हुँदै आएको थियो ।

काउन्सिल स्रोतका अनुसार, अध्यक्ष बालकृष्ण बस्नेतलाई कोइरालाको सट्टा अन्य नाम सिफारिस गर्न राजनीतिक दबाब नआएको होइन, अन्य नामहरु आउँदा पनि उनले अग्रजहरुसँग सल्लाह लिए, बोर्ड सदस्यहरुसँग घण्टौं छलफल गरेपछि रोष्टरको एक नम्बरमा परेर पनि वर्षौैँदेखि कसैको आँखा नपरेका वरिष्ठ पत्रकार कोइरालामाथि काउन्सिलको आँखा पर्नु र उनलाई पुरस्कृत गर्नु सिंगो पत्रकारिता जगत्कै सम्मान हो ।

यसपटकका सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार (एक लाख १० हजार राशिसहित)को पोखराका पत्रकार बद्रीविनोद प्रतिकलाई दिइने निर्णय भएको छ । अन्य पुरस्कारमा भने राजनीतिक भागबण्डा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्