Logo
Logo

१५ मन्त्रालयमा आरजुको कमाण्ड !



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकार बदनाम बदनाम छ । बदनाम हुनुको कारण प्रथम महिला आरजु राणा देउवा पनि हो । हरेक मन्त्रालयमा कर्मचारीको सरुवादेखि ठूला ठेक्काको सेटिङको काम आरजुले नै हेर्दै आएकी छिन् । त्यो प्रष्ट रुपमा देखिएको समेत छ ।

स्वास्थ्य मन्त्रालय पुरै उनले नै चलाएकी छिन् । जसकारण स्वास्थ्यराज्यमन्त्रीले गरेको सरुवा पनि संशोधन गरेर आरजुको सिफारिसअनुसार यूनिफाइड अस्पतालदेखि स्वास्थ्य सेवा विभागसम्म सेटिङ गरिएको थियो ।

मन्त्रालयकै सबैभन्दा विवादास्पद डा. आपरी बिच्छालाई विभागको महानिर्देशक बनाएर ठेक्कामा सेटिङ भइरहेको छ । बिच्छा केही महिनापछि नै अवकाश पाउने भएकाले यही बेला उनी कमाउन केन्द्रित भएका छन् । स्वास्थ्य मात्र होइन, कर्मचारी सरुवामा पैसाको चलखेल हुने भौतिक, सहरी विकास जस्ता मन्त्रालयमा पनि बिचौलियामार्फत पैसा उठाउने काम भइरहेको स्रोत बताउँछ ।

विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा आरजुकै कारण नियुक्ति पाएका हुन् । उनी आरजुको यूलेन्स विद्यालयमा समेत आवद्ध छन् । आरजु र उनका भाइ भूषण राणा मिलेर हालै सबैजसो मन्त्रालय तथा निकायमा चलखेल हुने गरेको बालुवाटार स्रोत बताउँछ । जसकारण काँग्रेसकै नेताहरु समेत उनीहरुको चलखेलले पार्टी बदनाम भएको र आगामी चुनावमा समस्या हुने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार २२ वटा मन्त्रालय हुन्छ । त्यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि गन्ति हुन्छ । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ५ मन्त्रालयमा मात्र मन्त्री छन् । स्वास्थ्य राज्यमन्त्री गन्दा ६ मन्त्रालयमा मन्त्री छन् ।

बुधबार काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरिएसँगै ७ मन्त्रालयमा मन्त्री पुगेका छन् । बाँकी सबै मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । बाँकी रहेका १५ मन्त्रालयमा आरजुकै खटनपटन चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्