Logo
Logo

प्रभु साहको ८ बुँदे माग, सम्बोधन नभए एमालेमा नबस्ने



काठमाडौं । नेकपा माओवादी केन्द्र त्यागेर एमाले बनेका प्रभु साहले नेतृत्वसमक्ष आफ्ना ८ बुँदे माग राखेका छन् । एक साताअघि एमाले अध्यक्ष केपी ओलीलाई बुझाएको माग पत्र सम्बोधन नभए एमालेमा बस्न नसक्ने बताएका छन् ।

एमालेमा प्रवेश गरेपछि आइटी आर्मीको ब्यानरमा आफूलाई विभिन्न कार्यक्रममा उपस्थित गराइरहेका तत्कालीन नेकपाका केन्द्रीय सदस्य साह पुस ५ को नेकपा विभाजनपछि केपी ओली पक्षमा लागेका हुन् । त्यसपछि उनी शहरी विकास मन्त्रीसमेत भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी ब्युँतिएपछि पनि एमालेकै नेताका हैसियतमा थिए ।

पछिल्लो समय उनी एमालेकै बैठकमा समेत देखिन छाडेका छन् । उनी शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा समेत सहभागी छैनन् । साहले एमाले स्थायी कमिटी सदस्य माग गर्दै आएका छन् । तत्कालीन नेकपाकालमा प्रदेश २ को अध्यक्ष रहेका साहलाई एमाले भएपछि जिम्मेवारीबाट हटाएर ज्वालाकुमारी साहलाई अध्यक्ष बनाइएको छ ।

माओवादीमा हुँदा साहको लिगेसी बाबुराम भट्टराई हुँदै टोपबहादुर रायमाझीसँग थियो । आइटी आर्मीको उद्घाटनमा रायमाझी प्रमुख अतिथि थिए । साहले एमालेलाई जेठ २ अघिको होइन, जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गरेका छन् ।

आठ बुँदे उनको मागमा जनताको बहुदलीय जनवाद होइन, नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानुपर्ने मागसमेत राखेका छन् ।

प्रभु साहले एमालेको विधान महाधिवेशन होइन, एकताको पार्टी महाधिवेशन हुनुपर्ने माग गरेका छन् । एमाले केन्द्रीय सदस्य हैसियतमा रहेका साहका मागका सम्बन्धमा महासचिव ईश्वर पोखरेल संयोजक रहेको कार्यदलले हेरिरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्