Logo
Logo

अध्यक्ष नभई ६ एमाले नेता सक्रिय राजनीतिबाट बिदा हुँदै



काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको ध्यान तानेको छ । ७० वर्षे उमेर हदम्याद र तीन उपाध्यक्षको प्रस्तावमा सबैको ध्यान तानिएको छ ।

उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान मस्यौदमा ७० वर्षे उमेर हदम्याद र तीन मात्रै उपाध्यक्ष राख्ने व्यवस्था प्रस्ताव गरिएको छ । यी दुई प्रस्ताव पारित भएको खण्डमा एमालेलाई नेता व्यवस्थापन सबैभन्दा सकसपूर्ण हुनेछ । विधान संशोधन प्रस्तावमा अध्यक्ष र वरिष्ठ नेतासहित तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहनेगरी पदाधिकारी व्यवस्था गरिएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।

एमालेको ७० वर्षे उमेर हदम्याद र तीन मात्रै उपाध्यक्ष रहने व्यवस्थाले केही नेता अध्यक्ष बन्न नपाउदै ‘बिदा’ हुनुपर्ने देखिन्छ । अध्यक्ष केपी शर्मा ओली ६९ वर्षको भइसकेका छन् । २००८ फागुन ११ मा जन्मेका ओली अझै चार महिना सक्रिय राजनीति गर्न पाउनेछन् । यही बीचमा महाधिवेशन हुँदा उनी अध्यक्षको उम्मेदवार हुनसक्छन् ।

तर ओली अध्यक्ष भए केही नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या देखिन्छ । अहिलेका तीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ६८ वर्षको भइन् । उपाध्यक्ष युवराज ज्ञवाली ६७ वर्ष र अर्का उपाध्यक्ष भीम रावल ६६ वर्षको पुगिसकेका छन् ।

यस्तै दुईपटक महासचिव निर्वाचित ईश्वर पोखरेल ६८ वर्षको भएका छन् । स्थायी कमिटी सदस्यद्धय सुवास नेम्वाङ ६९ वर्ष, रामबहादुर थापा बादल ६६ वर्ष र अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा ७४ वर्षको भइसकेका छन् । बोहरा अहिले नै ७४ पुगिसकेकाले सक्रिय राजनीतिबाट विदा लिनुपर्ने हुन्छ ।

अगामी महाधिवेशनमा ओली अध्यक्षको उम्मेदवार नभएको अवस्थामा आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा महासचिव पोखरेलले गरिसकेका छन् । तर ओली निकटका नेता शंकर पोखरेलले एकपटक पार्टी अध्यक्ष र प्रधानमन्त्री ओली नै हुने सार्वजनिक गरिसकेका छन् । ओली आफैले भने अध्यक्षको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छैनन् ।

बाँकी रहेका केही नेता १०औं महाधिवेशनसम्म सक्रिय राजनीतिमा रहेता पनि ११औं महाधिवेशनबाट जसरी पनि विदा लिनुपर्ने हुन्छ । त्यसैले उनीहरुले १०औं महाधिवेशनमै अध्यक्षको उम्मेदवार बन्नुपर्ने हुन्छ ।

उनीहरु अध्यक्ष नलड्ने भए व्यवस्थापन कसरी गर्ने भन्ने एमालेमा चिन्ता छ । तर, तीन मात्रै उपाध्यक्ष राख्न लागिएकाले तीन जना बाहेक अरु नेताहरु के गर्ने ? महासचिव र उपाध्यक्ष भइसकेका नेताहरु त्यो भन्दा मुनीको मर्यादाक्रममा राख्न मिल्दैन् ।

अध्यक्षमा ओली दोहोरिँदा दोस्रो पुस्ता भनिएका तर उमेर एवं राजनीतिक योगदानका आधारमा पहिलो पुस्ताकै शाक्य, रावल, ज्ञवाली, पोखरेल, नेम्वाङ, बादल लगायतका नेताहरुको व्यवस्थापन गर्न सकसपूर्ण हुनेछ ।

उनीहरू अब एक कार्यकाल मात्र कार्यकारी कमिटीमा रहन पाउँछन् । अध्यक्षबाहेक सबै पदको अनुभव लिइसकेका यिनीहरू सबैको अबको लक्ष्य भनेको पार्टी नेतृत्व अर्थात अध्यक्ष नै हो । तर, अप्ठ्यारो के छ भने ओली अघि सरेको अवस्थामा उनीहरू अध्यक्ष हुने सम्भावना छैन ।

जारी बैठकमा ७ उपाध्यक्ष राखेर प्रादेशिक इन्चार्जको जिम्मा दिँदा नेताहरूको व्यवस्थापन पनि हुने र सिनियर नेता कोही बाहिरिनु नपर्ने विषय पनि प्रवेश भएको छ । तर तीन मात्रै उपाध्यक्ष रहने व्यवस्था भए नेताहरु ११औं महाधिवेशनमा सहभागी समेत हुन नपाउने गरी सक्रिय राजनीतिबाट विदा लिनुपर्ने हुन्छ ।

एमालेले आउँदो १५, १६ र १७ असोजमा विधान महाधिवेशन काठमाडौंमा गर्दैछ । केन्द्रीय कमिटी बैठकबाट संशोधनसहित पारित हुने दस्तावेजहरुमाथि विधान महाधिवेशनमा छलफल हुनेछ ।

एमाले भित्र पहिलोपटक नेतृत्व चयन र नीति निर्णय गर्ने छुटाछुटै महाधिवेशन गर्दैछ । विधान महाधिवेशमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रस्तुत हुनेछ । यसअघि नवौं महाधिवेशनले विधि विधान र नेतृत्व छनोटका लागि फरकफरक महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्