Logo
Logo

एसपी बढुवाको बाटो खुलेन, आयोगले गरिदियो अस्वीकार



काठमाडौं , २१ पौष ।
साढे तीन महिनादेखि खाली नेपाल प्रहरीका १५ एसएसपीको पदपूर्ति तत्काल गर्न प्रहरी नियमावली संशोधन गर्न लागिएकोमा लोकसेवा आयोगले अस्वीकार गरेको छ । लोकसेवाले प्रहरी नियमावली संशोधन गर्न नमिल्ने राय गृह मन्त्रालयलाई दिएको हो ।

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने प्रावधान हेरफेर गरेर तीनवर्षे पदावधि कायम गर्दै बढुवा प्रक्रिया बढाउने तयारीमा मन्त्रालय थियो ।

तर, लोकसेवाले प्रावधान फेर्न सहमति नदिएपछि अब आगामी फागुनमा मात्रै एसएसपीमा बढुवा हुने भएको छ । अहिलेका एसपीहरूको पदावधि १० फागुनमा चार वर्ष पुग्छ । लोकसेवाले नियमावली परिवर्तन गर्नुभन्दा संघीय प्रहरी ऐनमै एसपी बढुवाका लागि तीनवर्षे पदावधिको प्रावधान राख्न सुझाब दिएको छ । संघीय प्रहरी ऐनको मस्यौदा ६ महिनादेखि कानुन मन्त्रालयमा छ ।

सर्वोच्च अदालतको आदेशअनुसार नै नियमावली संशोधन प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । तीन महिनाभित्र बढुवा नगरे बढुवा समितिका पदाधिकारीलाई कारबाही गर्नसमेत सर्वोच्चको फैसलामा भनिएको छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्