Logo
Logo

एमालेको विधान महाधिवेशन सहभागी प्रतिनिधिलाई एक छाकमात्र खाना



काठमाडौं । असोज १५ बाट तीन दिनसम्म हुने नेकपा एमालेको विधान महाधिवेशनका लागि खाद्य व्यवस्थापक छनोट गरेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ शुक्रबारदेखि १७ गते आइतबारसम्म चल्ने महाधिवेशनमा सहभागी प्रतिनिधिलाई तीन दिनको बिहानको खाना र दिउँसोको खाजाको टेण्डर आह्वान गरिएको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ५ हजार प्रतिनिधिका लागि खाना र खाजाका लागि गरिएको टेण्डर आह्वानमा १० जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा एक जनाको छनोट भइसकेको तामाङले बताए ।

एमाले विधान महाधिवेशन प्रचार उपसमितिमा रहेका एमाले नेता खिमलाल भट्टराईले बुधबार बेलुकासम्म सबै तयारी सकेपछि असोज १४ गते बिहीबार पत्रकार सम्मेलन गरेर खानासम्बन्धी तयारीबारे विस्तृत जानकारी दिने बताए ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको आवास व्यवस्थापन भने सम्बन्धित प्रदेश कमिटीले नै गर्नेछ । जसको व्यवस्थापनका लागि अनेरास्ववियु, जिफन्ट र खेलकूद संघबाट २ सय स्वयंसेवक खटिनेछन् । करिब तीन हजार सिट क्षमताको सनराइज हलमा सबै नअट्ने भएपछि पाल टाँगेर व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए ।

सो महाधिवेशनमा तीनवटा दस्तावेज पेश हुँदैछन् । जसमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी र स्थायी समितिमा छलफल भैसकेको छ । छलफलमा आएका सुझाव समेत समेटेर नेताहरुले दस्तावेजलाई पूर्णता दिएपछि विधान महाधिवेशनमा पेश गर्नेछन् ।

महाधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दैछन् । विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य सहभागी हुनेछन् । एमालेमा अहिले २११ जना केन्द्रीय सदस्यसमेत सहभागी हुने एमाले प्रचार विभमग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

त्यस्तै केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्य सहभागी हुनेछन् । केन्द्रीय विभागबाट सचिवसहित पाँच जना सहभागी हुनेछन् भने घोषित जनसंगठन केन्द्रीय पदाधिकारी र वरिष्ठ सदस्य गरी १० जना सहभागी हुनेगरी एमाले स्थायी कमिटी बैठकले विधानको व्याख्या गरेको छ ।

प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरु विधान अधिवेशनमा सहभागी हुन पाउनेछन् । जिल्ला कमिटीका पदाधिकारीहरु मात्र भाग लिन पाउनेछन् । त्यसैगरी प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्