Logo
Logo

कात्तिक दोस्रो सातापछि नेपाली श्रमिक इजरायल जाने



काठमाडौं । इजरायलले नेपाली श्रमिकलाई छिटो पठाउन अनुरोधसँगै अन्तर्वार्तामा उत्तीर्णलाई कात्तिक दोस्रो हप्ता पठाउने गरी सरकारले प्रक्रिया अघि बढाएको छ । इजरायलको रोजगारीका लागि नेपालको तर्फबाट लिखित, शारीरिक परीक्षण र अन्तर्वार्ताबाट छनोट भएका युवालाई पठाउने तयारी अघि बढाइएको हो ।

इजरायलसँग श्रम सम्झौता भएलगत्तै श्रमिक पठाउन ताकेता गर्दै आएको इजरायलले प्रक्रिया छिटो सम्पन्न गर्न अनुरोध गरेको लगभग एक वर्षपछि नेपाली युवा रोजगारीका लागि जाने बाटो खुलेको हो ।

वैदेशिक रोजगार विभागले असोज ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट छनोट भएका १ हजार ६ सय श्रमिकको नाम चिठ्ठा मार्फत नाम छनोट गर्न इजरायल नामावली पठाउने तयारी गरिरहेको जनाएको छ ।

यसअघि अन्तर्वार्तामा नाम छनोट भएको प्रारम्भिक विवरण भने इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पिवा) मा पठाइसकेको छ । अब भने प्रक्रियागत रुपमा कूटनीतिक तरिकाले छनोट हुने १ हजार श्रमिकको लागि नामावली पठाउने तयारी गरिएको हो । विभागका निर्देशक कमल ज्ञवालीका अनुसार अन्तर्वार्तामा छनोट १ हजार ६ सयबाट ७ सय महिला र ३ सय पुरुषसहित १ हजार युवालाई इजरायल लैजाने पूर्वनिर्धारित योजना भए पनि इजरायलले सबैलाई लैजान भने सक्नेछ ।

विभागले अन्तर्वार्तामा पास भएको जानकारी परराष्ट्र र श्रम मन्त्रालय तथा नेपालस्थित इजरायली दूतावास, इजरायल स्थित नेपाली दूतावासमा जानकारी गराइसकेको निर्देशक ज्ञवालीले बताए ।

विभागले पिवाले नाम छनोट गरी पठाएपछि पहिलो चरणमा जाने इजरायल जाने नेपालीको नाम नेपालस्थित इजरायल दूतावासमा पठाउने छ । यसैगरी अन्तिम चरणमा छनोट भएर भिसा प्रक्रियामा रहेका युवाको २ दिने अभिमुखिकरण तालिम समेत संचालन गरिने विभागका इजरायल हेर्ने फोकल निर्देशक डम्बर सुनुवारले बताए । इजरायलले पठाएको नामावलीको आधारमा क्रमशः १ हजार जनालाई नै अभिमुखिकरण तालिम समयमा नै सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताए ।

विभागले कात्तिक २२ गतेसम्म इजरायलको पिवाबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावास पठाउने गरी काम भइरहेको जनाएको छ । हाल इजरायलमा रहेकी नेपाली राजदूत नेपाल फर्किएका कारण रोजगारीमा जाने प्रक्रिया केही पर सर्ने सम्भावना समेत रहेको देखिन्छ । परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूत तोकिएको अवस्थामा भने काम छिटो हुने बताइएको छ ।

विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ ।
कारोबारबाट

प्रतिक्रिया दिनुहोस्