Logo
Logo

सरकारको राजस्व नीतिले फलाम र स्टिल महँगियो



काठमाडौं । फलाम तथा स्टिल उद्योगले उत्पादनमा धमाधम मूल्य बढाउन थालेका छन् । स्टिल उद्योगले छडमा प्रतिकिलो ६ रुपैयाँसम्म मूल्य बढाएका छन् । जस्तापातालगायत सामग्रीमा प्रतिगोटा ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ ।

आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमार्फत सरकारले बिलेट र स्पन्ज आइरनको राजस्व दर हेरफेर गरेको थियो । नयाँ व्यवस्थाअनुसार बिलेटमा भन्सारदर यथावत् राखेर अन्तःशुल्क प्रतिमेट्रिक टन १ हजार ६ सय ५० बाट २ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ । तर कच्चा पदार्थमा भने भन्सार र अन्तःशुल्कमा पूर्ण छुट दिने व्यवस्था गरिएको छ ।

अन्तःशुल्क हेरफेर भएको विषयमा स्टिल उद्योगीहरू पक्ष र विपक्षमा विभाजित भएका छन् । भारतबाट बिलेट आयात गरेर डन्डी बनाउने उद्योगले यसको विरोध गरिरहेका छन् भने कच्चा पदार्थ ल्याएर नेपालभित्रै बिलेट उत्पादन गर्ने उद्योगले समर्थन गरेका छन् । स्पन्जबाट बिलेट बनाउने उद्योग आधा दर्जन मात्र र बिलेट आयात गर्ने उद्योग दुई दर्जन छन् ।

यसरी बिलेटमा एकैपटक प्रतिमेट्रिक टन आठ सय ५० रुपैयाँ अन्तःशुल्क बढाएर दुई दर्जन उद्योगलाई डुबाउन खोजिएको भन्दै विरोध भइरहेको हो । यसले लगानी डुब्ने र मजदुरको रोजगारी गुम्ने भन्दै उद्योगी विरोधमा छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट सभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्