Logo
Logo

एमाले विधान महाधिवेशनको तयारी पुरा

६ हजार बढी प्रतिनिधि सहभागी हुने, तीन वटा दस्तावेजमा छलफल



काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको तयारी पुरा भएको छ । भोलिदेखि सुरु भई तीन दिनसम्म चल्ने विधान महाधिवेशनका लागि सबै तयारी पुरा भएको मुल व्यवस्थापन समितिले जनाएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विधान महाधिवेशन मुल व्यवस्थापन समितिले ६ हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने जनाएको छ ।

भोलि (शुक्रबार) दिउँसो १२:१५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । यस्तै बेलुन उडानुका साथै राष्ट्रिय गान गाएर उद्धघाट गरिने एमाले स्थायी कमिटी सदस्य एवं मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले जनाएका छन् ।
विधान महाधिवेशनलाई अध्यक्ष ओल सहित शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विधान महाधिवेशनको उद्धघाटन पश्चात तीन वटा दस्तावेज पेश हुनेछ । अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

शुक्रबार उद्घाटन एवं दस्तावेज पेश भइसकेपछि अध्ययन गर्ने र त्यसको भोलिपल्ट (शनिबार) समूहगत रुपमा छलफल हुने केन्द्रीय सदस्य एवं व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङले बताए ।

एमालेले विधान महाधिवेशनका लागि वादलको नेतृत्वमा मुल व्यवस्थापन समिति गठन गरेको थियो । समितिमा तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्