Logo
Logo

‘नेपाल गभर्मेन्ट रेल्वे’को १७ सय बिघा अतिक्रमित



काठमाडौं । तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को एक हजार ७ सय ४९ बिघा जग्गा अतिक्रण गरिएको छ । रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने उक्त जग्गा व्यक्ति र उद्योगहरूबाट अतिक्रमणमा परेको हो ।

विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा ‘नेपाल गभर्मेन्ट रेल्वे’ स्थापित भएको थियो । २०२२ सालतिर उक्त रेल सेवा बन्द भएपछि त्यसका संरचना र जग्गा बेवारिसे बन्दै गए । त्यसमध्ये अहिले वीरगन्जको पावरहाउस चोकदेखि पूर्व–पश्चिम राजमार्गको पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगहरूको कब्जामा छ ।

त्रिभुवन राजपथसँगै जोडिएको उक्त जग्गाको क्षेत्रफल ४ लाख ४२ हजार ५ सय ६९ वर्गमिटर हुन आउँछ । यसलाई बिघामा भन्दा एक हजार ७ सय ४९ (३४ हजार ९ सय ९५.६ कट्ठा) हुन्छ। राजमार्ग छेउको यो बहुमूल्य जग्गा निजी कित्तामा मिसाइसकिएको छ ।

अतिक्रमणकारी कतिपयले नयाँ नापीबाट प्रमाणित गराएर रेल्वेको जग्गा व्यक्तिगत बनाइसकेका छन् । ठूला–साना घर, पेट्रोल पम्प, वजन गर्ने काँटा (बृज), कलकारखाना, गोदाामजस्ता संरचना यो जग्गामा बनेका छन् । परवानीपुर, जितपुर र सिमरामा बस्ती नै बसेको छ । कतिपय सरकारी संरचना पनि यसमा बनेका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्