Logo
Logo

ओलीकाे तडक-भडकप्रति बाबुराम र खगेन्द्रको टिप्पणी, ‘कम्युनिष्टकाे नाममा कलंक’



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीकाे तडक-भडकलाई ‘निभ्न लागेको बत्ती’ भनि टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो राखेर गरिएको तडक–भडक एवं कार्यकर्ताले गरेको स्कटिङप्रति यस्तो टिप्पणी तथा ब्यंग्य गरेका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला । तर, अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’

यस्तै, बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले एमालेको प्रथम विधान महाधिवेशनमाथि टिप्पणी गरेका छन् । उनले पनि एमाले अध्यक्ष ओलीको तडक भडकलाई ‘निभ्न लागेको बत्ति’को संज्ञा दिँदै ‘कम्युनिष्टका नामको कलंक’ भनेका छन् ।

संग्रौलाले केपी ओलीमाथि कटाक्ष गर्दै भनेका छन्, ‘बालकोट–गोदावरी बाटाभरि ओलीका फोटैफोटा । लामबद्ध भक्तद्वारा ओलीको गोदावरी सवारी चलान । मञ्चमा न मार्क्स, न पुष्पलाल । मञ्चमा केवल ओली, बोतलमा ओली ।’ उनले अगाडि भनेका छन्, ‘६ हजारको भीडमा एक राजा, अरू प्रजा; एक देवता, अरू दास । एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण । हैट, कम्निस्ट नामको यो कलंक !’

प्रतिक्रिया दिनुहोस्