Logo
Logo

राजनीतिको बागडोर माओवादीमा निहित छ : भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राजनीतिकको बागडोर नेकपा ९माओवादी केन्द्र० र त्यसको नेतृत्वमा निहित रहेको बताएका छन् ।

पार्टी स्थायी समितिसमेत रहनुभएका मन्त्री भुसालले माओवादीहरू आफ्नो सङ्गठन, विचार र कार्यदिशामा स्पष्ट रहेको उल्लेख गर्दै देशको सिङ्गो राजनीति चलाउने क्षमता आफ्नो पार्टीमा रहेको दाबी गरे ।

माओवादी नेतृत्वमा एकताको पहल गर्ने, प्रतिक्रान्तिका विरुद्ध गोलबद्ध गर्ने, अग्रगामी शक्तिलाई मिलाउने क्षमता रहेको उल्लेख गर्दै उनले भने– ‘देशको राजनीति बागडोर माओवादी र माओवादी नेतृत्वले लिएको छ ।’

ललितपुर महानगरपालिका–२२ को वडा सम्मेलनको आज उद्घाटन गर्दै उहाँले जनयुद्धका समयमा जनतासँग नङ र मासुको सम्बन्ध बनाएजस्तै गरी सङ्गठन विस्तार गर्ने बताए । ‘आम पार्टीे कार्यकर्ता र जनताको बलबाट सुदृढ सङ्गठन बनाएर पार्टीलाई अझै सबल बनाउनुपर्छ’, मन्त्री भुसालले भने– ‘टोल, वडा, पालिकास्तरमा सङ्गठन विस्तार गरेर जानुपर्छ । माओवादीलाई एकताबद्ध गरेर सुदृढ सङ्गठन बनाउँछौँ ।’

उनले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको स्पष्ट पार्दै पार्टी गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दलाल पूँजीपति वर्गलाई पोस्ने र विदेशी मालिकलाई खुशी पार्ने अभियानमा लागेकाले पछिल्लो अवस्था सिर्जना भएको उनको भनाइ रहेको छ ।

स्थायी समिति सदस्य भुसालले दशवर्षे जनयुद्धको जगमा उठेको जनआन्दोलन र मदेश अन्दोलनमा योगबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता समावेश भएको संविधानलाई समाप्त पार्न षड्यन्त्र गर्ने विरुद्ध एकताबद्ध हुन आग्रह गर्दै श्रमजीवी जनताको पक्षमा लाग्ने पार्टीको पक्षमा जनताको विश्वास रहेको दाबी गरे ।

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं ललितपुर पार्टी जिल्ला इन्चार्ज हरि दाहाल र सहइन्चार्ज दीपेश महर्जनले श्रमजीवी जनताको जनलहर रहेको उल्लेख गर्दै आगामी दिनमा पहिलेजस्तै माओवादीले परिवर्तनको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । आजै माओवादी केन्द्रले ललितपर महानगरको वडा नं २६ र २७ को वडा भेला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्