Logo
Logo

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।

अखिल क्रान्तिकारीको इतिहासमा महिला पहिलोपटक अध्यक्ष बनेको हो । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएको एक नेताले बताए । अरु पदाधिकारीका बारेमा छलफल जारी रहेको छ ।

अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने जनाइएको छ ।

१४ बर्षकै उमेरमा भुमिगत भएकी थिइन् पञ्चा
पञ्चा कालीकोटको महावैमा जन्मिएकी हुन् । उनी १४ वर्षकी हुँदा २०५८ सालमा भूमिगत भएकी थिइन् । सुरुका ५/६ महीना कलाकारको टिममा र लगत्तै विद्यार्थी संगठनमा आबद्ध भएकी हुन् ।

०५९ सालमा जुम्ला जिल्ला कोषाध्यक्ष हुँदै ०६२ मा जुम्ला र कालीकोट जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी थिइन् । १७औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी सिंहले ०६५ मा भेरी-कर्णालीको संयोजकको जिम्मेवारी पनि पाएकी थिइन् ।

उनी केन्द्रीय सचिव निवार्चित हुँदै नरेन्द्र न्यौपाने अध्यक्ष हुँदा पञ्चा उपाध्यक्षको जिम्वारी सम्हालेकी थिइन् । २१औं महाधिवेशनमा उनी सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्षमै निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्