Logo
Logo

उपभोक्ता ठग्ने भाटभटेनीलाई ५० हजार जरिवाना



भक्तपुर । भक्तपुरको सुर्यविनायकमा रहेको भाटभटेनी सुपरमार्केट चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको छ । भाटभटेनीले ७१ रुपैंया ५० पैसामा खरिद गरेको चिनी रु ८९ मा बिक्री वितरण गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ भने बोतलको पानी रु २६ मा खरिद गरेर रु ४५ मा बिक्री गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो ।

अनुगमनका क्रममा ग्राहक अफरका नाममा बिस्कुटका प्याकेट टुटेको फुटेकोसमेत बिक्रीका लागि राखेको, तरकारी र फलफूलमा उपभोक्तालाई ठगी गरेको, तरकारीका प्याकेटमा मूल्य राखे पनि तौल नराखेर प्रतिकेजी मूल्य कति हो रु उपभोक्तालाई जानकारी नदिई बिक्री गरेको पाइएको छ ।

भाटभेटेनीमा उपभोग्य सामानमा मिति नाघेका वस्तु र उपभोग्य वस्तु एकै स्थानमा भण्डार गरेर बिक्री गरेको, बिस्कुट र चकलेटमा प्याकेटमा अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गरेको पाइएको छ ।

भाटभेटेनीको प्राङ्गणमै रहेको केएफसी चिकेन र पिजा हन्टले स्थानीय नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाइएको छ । तेलमा पनि बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । भाटभटेनीले कालोबजारी गरेको र उपभोक्ता ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले रु ५० हजार जरिवाना गरेको सहायक प्रजिअ मुकेशकुमार केशरीले जानकारी दिए ।

उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बजारमा अनियमितता बढेको बताए । भाटभटेनीमै पनि अनियमितता रहेको, ऐन विपरीत नाफा ८० देखि ३०० प्रतिशतसम्म राखेको पाइएको उनले जानकारी दिए ।

खाद्यान्न, तेल, घीउ, चिनी लगायतमा २५ देखि ८० प्रतिशतसम्म बढी मूल्य लिएको र लत्ताकपडामा ३०० प्रतिशत, चामलमा बोरामै रु ३०० देखि ४०० समेत बढी मूल्य लिएको पाइएको थापाले जानकारी दिए । यहाँ हर्बल मिसावट चिनीमा आधा किलोको रु १५८ लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्