Logo
Logo

‘एमालेका कारण सांसदको मानवअधिकार हनन भयो’



काठमाडौं । स्वतन्त्र सांसद खिमलाल देवकोटाले एमालेका कारण सांसदको मानवअधिकार हनन भएको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा एमालेको अवरोधका बीच सांसद देवकोटाले प्रतिनिभिसभाको विषयलाई लिएर राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षका सांसदहरुले गरिरहेको अवरोधको आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

एमालेका कारण सांसदहरूको नैसर्गिक अधिकार हनन भएको भन्दै देवकोटाले भने, ‘संसद्‍मा बोल्न पाउनु सांसदहरूको नैसर्गिक अधिकार हो । हाम्रो मुख थुनिएको छ । एक महिनादेखि हामीलाई बोल्न दिइएको छैन । सांसदको मानवअधिकार हनन भएको छ।’

देवकोटाले एमालेका सांसदहरूले लोकतान्त्रिक मूल्य र मान्यतामा आँच पुर्‍याउने काम भएको पनि बताए । एमालेका सांसदहरूले सदनमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध बोलेका कुराहरूलाई राष्ट्रिय सभाको रेकर्डबाट हटाउन पनि उनले माग गरे ।

‘प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रिय सभाको खाँबो चिथोर्न मिल्छ ?’ उनले प्रश्न गरे । संसद्का दुवै सदनका नियमावलीले सभामुख र अध्यक्षप्रति ती शब्द प्रयोग गर्नबाट सांसदहरूलाई बन्देज लगाएको पनि सांसद देवकोटाले उल्लेख गरे ।

सभामुख सांसदका अभिभावक पनि भएको र सरिता गिरी, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतको र तत्कालीन एमालेका १४ सांसदको कारबाही फरक भएको पनि सांसद देवकोटाले तर्क गरे । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने सांसद देवकोटाको नियमापत्ति खारेज गरिदिएका छन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्