Logo
Logo

भाडा नबढेपछि यातायात व्यवसायीद्वारा सेवा बन्द, यात्रुलाई सास्ती



काठमाडौं । उपत्यकामा चल्ने अधिकांश सार्वजनिक यातायातका साधन चलेका छैनन् । सोमबार सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द भएको हो । सार्वजनिक सवारी पातलो मात्रामा चल्दा यात्रुलाई समस्या परेको छ । यात्रु कोचिएर यात्रा गर्न बाध्य भएका छन् ।

महासंघका महासचिव केशव नेपालले बाग्मती प्रदेश सरकारले प्रदेशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाएपछि आन्दोलनमा जानु परेको बताएका छन् । सार्वजनिक सवारी सडकको किनारमा रोकेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको हो ।

सरकारले अन्तरप्रदेश चल्ने सवारीको गत असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाए पनि छोटो दूरीमा चल्ने सवारीको भाडा वृद्धि भएको छैन । कानुनअनुसार छोटो रुटहरुमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजनको अधिकार सम्बन्धित प्रदेश र स्थानीय तहहरुलाई छ । यातायात व्यवसायीले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएको बताउँदै आएका आएका छन् ।

चक्रपथमा चल्ने धेरैजसो कम्पनीले सो बन्द गरेका छन् । प्रदेश सरकारले भाडा बढाउन चासो नदिए अब चोक–चोकमा सवारी तेस्र्याएर आन्दोलन गरिने महासंघले चेतावनी दिएको छ । यातायात व्यवसायीले संघीय सरकारले बढाएकै दरमा स्थानीय तह र प्रदेशमा चल्ने सवारीको भाडा समायोजन गर्न माग गर्दै आएका छन् ।

पुरानै दरमा भाडा उठाइरहनुपर्दा सवारीको सञ्चालन खर्च नउठ्ने अवस्था आएको महासंघले बताएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले लामो दूरीमा चल्ने सवारीको भाडामा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्