Logo
Logo

ओलीको पुरस्कार देउवाद्वारा खारेज



काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत ल्याउँदा नेपाली कांग्रेसले शक्ति केन्द्रीकरण गरेको भन्दै विरोध गरेको थियो । अहिले कांग्रेस सरकारमा आएको तीन महिना हुन लागिसकेको छ । तर, ती विभाग प्रधानमन्त्रीकै मातहतमा राखिएको छ । अझ सेटिङका आधारमा दुवै विभागका महानिर्देशक परिवर्तन गरिएको छ ।

ओलीका कतिपय खराब कामलाई देउवाले निरन्तरता दिएका छन् । तर, कतिपय राम्रा कामलाई भने अघि बढाएका छैनन् । प्रधानमन्त्री प्रतिभा पुरस्कार भनेर ओलीले पुरस्कारको स्थापना गरेका थिए । जुन पुरस्कार यो वर्ष घोषणा हुन सकेन ।

असोज १ गते यस्तो पुरस्कार घोषणा गर्ने र ५ गते राष्ट्रपतिबाट दिने भनिएको थियो । गत असारदेखि नै यस्तो पुरस्कारको लागि छनोट प्रक्रिया अघि बढाइएको थियो । केही व्यक्तिको नाम सिफारिस समेत भएको थियो, तर प्रधानमन्त्री देउवाकै अनिच्छाका कारण पुरस्कार नदिने निर्णय भएको स्रोत बताउँछ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अन्तिम समयमा पुरस्कार दिने निर्णय खारेज भएको हो ।

हुन त यो पुरस्कारको स्रोत भने विवादास्पद छ । क्रिश्चियन धर्मको प्रचारमा संलग्न संस्था वल्र्ड पिस फाउन्डेनसले ओलीलाई दिएको एक करोड रकम बैंकमा राखेर तीन वर्षअघि यो पुरस्कार स्थापना गरिएको थियो । र, एक व्यक्तिले पाँच लाख रुपैयाँ पाउने गरी पुरस्कार स्थापना गरिएको थियो । जुन दुई वर्षअघि डा सन्दुक रुइतलाई दिइएको थियो । थप दुई जनालाई राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने गरिएको थियो । पुरस्कार दिने व्यक्तिको विषयमा कुरा नमिलेकाले पनि यसमा निर्णय हुन नसकेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्