Logo
Logo

ठमेलमा विदेशी माफियाको लगानी ?



काठमाडौं । नेपालमा करोडौं लगानी गरेर एकपछि अर्काे डिस्को खुलिरहेका छन् । यस्ता लगानीको स्रोत भने अदृश्य हुने गरेको छ । खासगरी गुन्डागर्दी पृष्ठभुमीका व्यक्तिहरुको यसमा लगानी हुँदै आएको छ । विगतमा त गुन्डागर्दी गर्ने बाहेक अरुले डिस्को र डान्सबार चलाउँनै सक्दैन थिए । अहिले पनि ठमेल तथा दरबारमार्गका अधिकांश डिस्को, डान्सबार र लाउन्जमा उनीहरुकै लगानी छ । रात्री व्यवसायमा दीपक मनाङे, गणेश लामा समूह निकट व्यक्तिहरुकै ठूलो लगानी छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय माफिया समूह समेत ठमेलका डिस्कोमा लगानी गर्न थालेका छन् । त्यसैका लागि केन्यामा लागू औषध माफियाका नाइके अली पुञ्जानी हाल नेपाल आएका छन् । ठमेलको ठूलो क्लब एलओडीमा लगानी गर्ने उदेश्यसहित उनले पटक– पटक छलफल गरेको स्रोत बताउँछ । लागु औषध तस्करीबाट कमाएको अवैध धनलाई उनले आफ्नो नेपाली श्रीमती सुस्मिता कार्कीको नाममा उनले लगानी गर्न लागेका हुन् । तर, यसबारे जानकारी पाएर पनि प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मौन छन् । बरु गृह मन्त्रालयले यस विषयमा चासो लिएर छानबिन थालेको स्रोत बताउँछ ।

पुञ्जानी यस्ता व्यक्ति हुन् जो प्रहरीलाई नै किनेर आफ्नो मुद्दा मिलाउने गर्दछन् । दुई वर्षअघि उनकी नेपाली श्रीमती सुष्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेकोमा एक सातामै उनी छुटेकी थिइन् । त्यसबेला उनी भने भाग्न सफल भएका थिए । केन्याका ठूला नेतालाई समेत आर्थिक प्रभावमा पारेर अवैध धन्दा चलाउँदै आएका उनले नेपालमा समेत केही प्रहरीसँग सम्बन्ध बढाएको स्रोत बताउँछ । सोही कारण पनि उनलाई प्रहरीले पक्राउ नगरेको हो ।

प्रतिक्रिया दिनुहोस्