Logo
Logo

गृहमा थरि–थरिका सिडिओ



काठमाडौं । सरकार फेरिएसँगै गृह मन्त्रालयमा नेपाली कांग्रेसको व्यापक हस्तक्षेप छ । मन्त्रालयका महाशाखा प्रमुखदेखि अधिकाशं जिल्लाका सिडिओहरु फेरिसकेका छन् । तर, केही यस्ता सिडिओ पनि छन् जो, जुनसुकै सरकार आएपनि रिझाएर नियमित अवधिभन्दा लामो समय बस्न सफल छन् ।

त्यसमध्ये एक हुन् अर्घाखाँचीका सिडिओ विष्णु पौडेल । उनी अर्घाखाँची गएको १३ महिना भइसकेको छ । सामान्यतया एक वर्षमा सिडिओको सरुवा हुने भएपनि १३ महिनासम्म उनको सरुवा नभएकोमा गृहकै कर्मचारी नै चकित छन् ।

गत शुक्रबार गृहले १० जिल्लाका सिडिओको सरुवा ग¥यो । त्यसमा कतिपय जिल्लाबाट ५ महिनामै सिडिओलाई हटाइयो, तर नियमित भन्दा धेरै अवधि पुगेका पौडेललाई हटाइन । किनकि, पौडेल जुनसुकै पार्टीका नेतालाई पनि रिझाउन माहिर मानिन्छन् । यसअघि दुई पटक उनको सरुवाको तयारी गृह मन्त्रालले गरेको थियो । त्यतिबेला शक्तिकेन्द्रमा फोन गरेर आफ्नो सरुवा रोकाएको स्रोत बताउँछ । अहिले पनि उनले आफ्नो सरुवा रोक्न सफल भएका छन् ।

तर, कतिपय सिडिओलाई भने अपमानजनक रुपमा ५ महिनामै हटाइएको छ । लमजुङका सिडिओ होमनाथ लुइटेललाई पाँच महिनामै सरुवा गरिएको हो । त्यस्तै कतिपयको ६ महिनामा सरुवा गरिएको छ । कास्कीका सिडिओ थानेश्वर गौतम, रसुवाका ईश्वरी प्रसाद ढकाललाई ६ महिनामा हटाइएको छ । सप्तरीबाट गत महिना मात्र मन्त्रालय आएर हुम्लाको सीमा विवादबारे छानबिन गर्ने जयनारायण आचार्यलाई कास्की पठाइएको छ । त्यस्तै, एयरपोर्ट अध्यागमनमा बसेर अनेक सेटिङमा मुछिएका सुशील बैद्यलाई लमजुङको सिडिओमा पठाइएको छ ।

सरुवामा महोत्तरीका तिर्थराज भट्टराईलाई हटाएर वासुदेव दाहाललाई पठाउने निर्णय भएको थियो । तर, भट्टराईले भने अन्तिममा आफ्नो सरुवा रोक्न सफल भएका छन् । भट्टराईको पनि ६ महिनाको अवधि मात्र पुगेको थियो । उनी भ्रष्टाचार मुद्दामा परेर सफाइ पाएका कर्मचारी हुन् ।

विगतमा ओलीले हस्तक्षेप गरेर कमजोर बनाएको गृह प्रशासन अहिले झनै कमजो र अस्तव्यस्त हुन थालेको छ । सचिव टेकनारायण पाण्डेका कारण पनि गृह प्रशासन यस्तो अवस्थामा पुगेको कर्मचारीहरु बताउँछन् । अहिले सिडिओ सरुवा पूर्ण रुपमा राजनीतिक सिफारिस र चलखेलका आधारमा हुन थालेको छ ।

काठमाडौंमा पनि छोटो अवधिमै सिडिओ फेरिएको थियो । कालि प्रसाद पराजुलीलाई हटाएर गोविन्द रिजाललाई ल्याइएको छ । रिजालको उठबस बिचौलिया र काठमाडौंका गुन्डाहरूसँग भएको स्रोत बताउँछ । दशैंको बेला ललितपुर र भक्तपुर प्रशासनले बजार अनुगमन गरी ठूला व्यापारीलाई कारबाही गरेपनि रिजाल भने आँखा चिम्लिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्