Logo
Logo

प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै



काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएपछि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री राउतको पार्टी जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि संविधानअनुसार विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ ।

गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो । जसपाले जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर आज मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

अहिले प्रदेश नं २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार छ भने नेकपा (एकीकृत समाजवादी)ले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ । यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाका १०४ सदस्यमध्ये दुईतिहाइभन्दा बढीको बहुमत छ ।

प्रदेशसभा २ का सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् ।

प्रदेश २ प्रदेशसभामा जना १०७ सांसद थिए । त्यसमध्ये माओवादी केन्द्रले तीन जनालाई कारवाही गरेपछि हाल जम्मा सांसद संख्या १०४ रहेको छ । त्यसमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्