Logo
Logo

प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने



काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ ।

मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन संसद् बैठक बोलाइएको हो । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक, कानुनी व्यवस्थाअनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री राउतको पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ, जसले गर्दा मुख्यमन्त्री राउतले विश्वासको मत लिनुपर्ने भएको हो । प्रदेशसभा २ मा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राउतले सत्ता साझेदार दलहरूका प्रदेशसभा सदस्य संख्याका आधारमा सहजै विश्वासको मत प्राप्त गर्ने सत्तापक्षको दाबी छ ।

कुल १०७ सदस्य संख्या रहेको प्रदेशसभामा हाल कायम रहेका सदस्यको संख्या १०४ छ । सरकार टिकाउनका लागि ५३ सदस्य आवश्यक छ ।

सरकारको नेतृत्व गरिरहेको जसपासँग ३८ सांसद छन् । सत्तापक्षीय गठबन्धनमा रहेको नेपाली काँग्रेससँग १९ साँसद छन् भने माओवादीसँग ८ र नेकपा (एकीकृत समाजवादी) सँग १३ साँसद छन् । यी सबै दलको संख्या जोड्दा ७८ पुग्छ, जुन मुख्यमन्त्री राउतका लागि सुविधाजनक बहुमत हो । प्रदेशसभाको प्रतिपक्षमा रहेका एमालेसँग ८ र लोकतान्त्रिक समाजवादीसँग १७ सांसद छन् । प्रतिपक्षसँग २५ सांसद मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्