Logo
Logo

बादल र सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता



काठमाडौं । पूर्वगृहमन्त्री रमबहादुर थापा ‘बादल’ र पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता भएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता तथा सर्लाही जिल्लाका इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा उनीहरुविरुद्ध बुधबार सर्लाहीमा जाहेरी दर्ता भएको हो । गत मंगलबार सर्वोच्च अदालतले उनीहरुविद्ध जाहेरी दर्ता गर्न आदेश दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीलाई समेत बोलाएर बादल र खनालविरुद्ध जाहेरी दर्ता भएको सर्लाहीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। अब उनीहरुमाथि अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

तत्कालिन प्रहरी प्रमुख खनालकै निर्देशनमा सो इन्काउन्टर भएको थियो । जसको जिल्लाको प्रहरीलाई समेत जानकारी नदिई खनालको निर्देशनमा हेडक्वार्टरबाट खटिएका प्रहरीले गोली हानेका थिए ।

२०७६ असार ५ गते दिउँसो पौडले दोहोरो भिडन्तमा मारिएको भन्दै प्रहरीले दाबी गरेको थियो । तर, मानव अधिकार आयोगको टोलीले छानबिन गर्दा इन्काउन्टर नभएर हत्या भएको खुलेको थियो ।

सो घटनामा खनाललाई समेत कारबाहीको सिफारिस मानव अधिकार आयोगले गरिसकेको छ । मुड भेड नभएको र आत्मरक्षाका लागि गोली चलाउनुपर्ने अवस्थासमेत नरहेकोमा उनीहरूले पौडेललाई नियन्त्रणमा लिई नौ गोली हानेर हत्या गरेको आयोगका विज्ञप्तीमा भनिएको थियो ।

गोली प्रहारमा संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ ।

गोली प्रहारमा संलग्न इन्स्पेक्टरसहित तीनजना प्रहरी प्रधान कार्यालयबाट खटिएका थिए । प्रहरी महानिरीक्षकको प्रत्यक्षमातहतमा रहने गरी उनीहरू खटिएका थिए । आयोगसँगको बयानमा प्रहरी महानिरीक्षक खनालकै निर्देशनमा आफूहरू सो ‘इन्काउन्टर’ मा खटिएको बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्