विवादमा एमालेको नयाँ लोगो, माओवादीले कानुनी उपचार खोज्ने « Drishti News – Nepalese News Portal
Logo

विवादमा एमालेको नयाँ लोगो, माओवादीले कानुनी उपचार खोज्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले हालै सार्वजनिक गरेको पार्टीको नयाँ लोगो विवादमा परेको छ । एमालेले पार्टीको पहिलो विधान महाधिवेशनले केहि दिन अघि सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेर सार्वजनिक गरेको थियो । उक्त लोगोबारे नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताले आपत्ति जनाएका छन् ।

सार्वजनिक गरिएको एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो भएपछि विवादमा परेको हो । एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले प्रयोगमा ल्याएको उक्त लोगोलाई थोरै मात्र परिवर्तन गरेर एमाले विधान महाधिवेशनले पारित गरेको थियो ।

एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा हुँदा दुवै पार्टीका चुनाव चिन्ह मिलाएर त्यस्तो लोगो प्रयोगमा ल्याइएको थियो । तर अहिले एमालेले एकलौटी आफ्नो चुनाव चिन्ह समेत एमालेको लोगो बनाएपछि माओवादीले आपत्ति जनाएको हो ।

एमालेले सार्वजनिक गरेको लोगोबारे माओवादी केन्द्रले कानुनी उपचार खोज्ने बताएको छ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमालेले सार्वजनिक गरेको लोगोबारे दावी विरोध गर्न सक्ने बताए । उनले भने, ‘समान्यतया अर्को पार्टीको चुनाव चिन्ह राख्न पाइँदैन । निर्वाचनसम्बन्धी कानुनले पनि त्यहीँ भन्छ ।’ नेता गुरुङले पार्टीले काननुविदहरुसँग छलफल गरेर अघि बढ्ने तयारी नेता गूरुङको भनाई छ ।

‘कानुनविद्हरुसँग परामर्शकै क्रममा छौ, परामर्शपछि के गर्ने भन्ने टुङ्गो लाग्छ’, गुरुङले भने । तर एमालेका उपमहासचिव विष्णु पौडेलले भने माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नभएको भन्दै उहाँहरुको दावी नपुग्ने बताएका छन् ।

‘पहिलो कुरा हँसिया हथौडा उहाँहरुको चुनाव चिन्ह भएपनि गोलाकारभित्रको हँसिया हथौडा त होइन । दोस्रो कुरा हँसिया हथौडा कम्युनिस्ट सबै पार्टीहरूको साझा झण्डा हो’, पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्